मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अन्तर्राष्ट्रिय हात्तीदौड रोक्न संरक्षणकर्मीको अपिल

अन्तर्राष्ट्रिय हात्तीदौड रोक्न संरक्षणकर्मीको अपिल


चितवन, १७ मंसिर । चितवनको पर्यटकीय नगरी सौराहामा हुने हात्ती दौड रोक्न माग राख्दै पर्यावरण र संरक्षणका क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । हात्ती दौड हात्तीको स्वभाव र आचरण अनुकूलको काम नभएको हुँदा त्यसलाई रोक्नुपर्ने उनीहरुको भनाइ छ ।

क्षेत्रीय होटल संघ (हान) सौराहाको तत्वधानमा विभिन्न संघसंस्थाले क्रिसमसको अवसर पारेर हात्ती महोत्सव आयोजना गर्दै आएका छन् । हात्ती दौड भनेर सुरू भए पनि आयोजकहरुले पछिल्ला वर्षहरुमा कार्यक्रमहरु थपेर महोत्सव नामाकरण गरेका हुन् ।

आयोजकहरुले पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्य राखेर चितवनको सौराहामा आयोजना गर्दै आएको हात्ती महोत्सवमा हात्तीसँग सम्बन्धित गतिविधिप्रति हाम्रो ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ । हात्ती निकै संवेदनशील प्राणी भएकाले उसको स्वभाव प्रतिकूलका गतिविधि भएमा प्रतिरोध गर्ने बानी हुने विज्ञप्तिमा उल्लेख छ ।

हात्तीप्रतिको व्यवहारमा निकै सावधानी अपनाउनुपर्ने र त्यसो हुन नसके हात्ती तनावमा आएर आक्रमक व्यवहार प्रदर्शन गर्दा दुःखद घटनाहरु पनि भएका उदाहरणहरु प्रशस्तै भएको विज्ञप्तिमा उल्लेख छ । हात्ती महोत्सवमा हुने कयौं गतिविधिहरु हात्तीको स्वभाव र आचरण अनुकूल नभएको हुँदा यसलाई जारी राख्नु खतरनाक भएको विज्ञप्तिमा उल्लेख छ ।

हात्ती दौडले हात्तीमा तनाव बढाउन भूमिका खेल्ने तर्फ विज्ञप्तिमा सचेत गराइएको छ । ‘हात्ती दौड यस्तो गतिविधि हो, जुन हात्तीको स्वभाव र कार्यप्रणालीसँग मेल खाँदैन । हात्ती दौडको विषयमा विगतमा पनि विरोधका स्वरहरु उठेकै हुन् । आयोजकहरुले केही सामान्य सुधारहरु गर्ने तर हात्ती दौडलाई त्याग्न नखोजेको पाइयो’ विज्ञप्तिमा भनिएको छ ।

सौराहा र निकुञ्ज आसपासमा रहेका हात्तीहरुमा क्षयरोगजस्ता समस्याले ग्रस्त भएको समाचार बेलाबेलामा आउने गरेको छ । पर्याप्त आहारा नहुनु, कामको बढी भार पर्नुजस्ता कारणहरुले हात्तीहरु अस्वस्थ हुने गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुको स्वास्थ्यका लागि हात्तीलाई तनावरहित बनाउने काम हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘हात्ती तनावमा नहोस् भन्नका लागि निकुञ्जले समेत हात्तीलाई साङ्लोले बाँध्न छोडेको छ । यस्तो अवस्थामा हात्तीको तनाव बढाउन भूमिका खेल्ने हात्ती दौडलाई निरन्तरता दिनु दुःखद हो’ विज्ञप्तिमा उल्लेख छ । पर्यटनमा हात्तीको प्रयोगका विरूद्ध विश्वव्यापी अभियान सुरू भई सकेको सन्दर्भमा आयोजकहरु गम्भीर बन्नपर्ने सुझाव दिइएको छ ।

‘हात्ती सफारी रोक्नका लागिसमेत विदेशमा अभियान चलेको बेलामा हामीले चितवनमा हात्ती दौडजस्तो हात्तीलाई तनाव हुने कार्यक्रम गर्नाले दीर्घकालमा पर्यटनलाई हानी पु¥याउने खतरा छ’ विज्ञप्तिमा भनिएको छ ।

हात्ती महोत्सवमा हुने हात्ती दौडलगायत छावाहरुको फुटबलजस्ता क्रियाकलाप हात्तीको स्वभाव अनुकूल नभएको विज्ञप्तिमा इंकित गरिएको छ । त्यस्तै हात्ती सुन्दरी प्रतियोगिताको नाममा प्रयोग हुने रंगहरुले हात्तीलाई असर गर्ने कुरामा पनि आयोजकले ध्यान दिन नसकेको भनिएको छ ।

‘यस्ता कदमप्रति हाम्रो गम्भीर असहमति छ र यस्ता कार्य रोक्न हामी आयोजकसँग जोडदार माग गर्दछौं’ विज्ञप्तिमा जोड दिइएको छ । पर्यटनलाई टेवा दिने भनेर आयोजना गरिने कार्यक्रमले हात्तीको व्यवहारप्रति मानव संवेदनशील नभएमा राष्ट्रिय निकुञ्जजस्तो वन्यजन्तुमा आधारित पर्यटनमा नकारात्मक असर पर्ने सम्भावना हुनेतर्फ ध्यान पु¥याउन अपिल गरिएको छ । ‘हात्ती दौडले निम्त्याउन सक्ने संकटप्रति बेलैमा गम्भीर हुन हामी आयोजकहरुलाई हार्दिक अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।