खोटाङ, १६ मङ्सिर । भूकम्प गएको आठ महिनापछि जिल्लाको उत्तरी गाविस खार्मीका भूकम्पपीडितका लागि परिचयपत्र वितरण गरिएको छ ।
गत वैशाख १२ र २९ गते गएको भूकम्पले पूर्णरूपमा भत्किएका र पुनः मर्मत गरे पनि बस्न नमिल्ने अवस्थाका ९३ घरलाई ‘क’ श्रेणीको परिचयपत्र वितरण गरिएको गाविस सचिव चित्रप्रसाद सुवेदीले बताउनुभयो । “आंशिक क्षति पुगेका घर धेरै छन्”–उहाँले भन्नुभयो, “प्राथमिकताका आधारमा बाँकी रहेकालाई पनि वितरण गरिनेछ ।”
भूकम्पका कारण जिल्लाका ६ हजार १६७ घर पूर्ण क्षति र १२ हजार घरमा आंशिक क्षति पुगेको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिले भूकम्पपीडितलाई आवास कर्जालगायत अन्य सहयोग प्रदान गर्न परिचयपत्र वितरणमा ढिलाइ गर्न नहुने भन्दै तत्काल वितरण गर्न निर्देशन दिएको छ ।
समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काका अनुसार हालसम्म दिक्तेल नगरपालिका र खार्मीबाहेक अन्य सात गाविसमा मात्र परिचयपत्र वितरण गरिएको छ । रासस
प्रतिक्रिया