मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वार्ताको वातावरण बनाउन मधेसकेन्द्रित दललाई आग्रह

वार्ताको वातावरण बनाउन मधेसकेन्द्रित दललाई आग्रह


काठमाडौँ, १२ मङ्सिर । उपप्रधानमन्त्री भीमबहादुर रावलले तराई–मधेसमा हुँदै आएको आन्दोलनलाई शान्तिपूर्ण तुल्याएर वार्ताको वातावरणलाई सहज बनाउन मधेसकेन्द्रित दललाई आग्रह गर्नुभएको छ ।
 
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आन्दोलनरत दलले नेपाल र नेपाली जनताप्रति जिम्मेवार भएर प्रस्तुत भएर आफ्ना माग राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रलाई मान्नुहुन्छ भने आन्दोलनका स्वरुप परिवर्तन गर्नुहोस्, भूकम्पले थिलथिलो भएका जनताप्रति अनुदार नबन्नुहोस् ।”
 
निरन्तरको बन्द र भारतको नाकाबन्दीबाट मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र जनताको दैनिक जीवनमा नकारात्मक असर परेको उल्लेख गर्दै रक्षामन्त्री रावलले आन्तरिक मामिला र मित्र राष्ट्रबीचको सम्बन्धलाई फरक फरक तवरले हेर्नुपर्ने बताउनुभयो ।
 
उपप्रधानमन्त्री रावलले चीन र भारत दुवै देशले नेपालको भूपरिवेष्टित राष्ट्रको अधिकारलाई सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, “हामी भारतसँग सुमधुर सम्बन्ध कायम राख्न चाहन्छौँ, पारवहनमा परेको यो अप्ठ्यारो दुई देशबीचको सम्झौतासँग मेल खाँदैन ।”
 
देश र जनताको शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आफ्नो भूभाग र जनताको रक्षाका लागि  सरकार प्रतिबद्ध छ, त्यसका लागि आवश्यकताअनुसार संविधान र कानुनबमोजिम सबै सुरक्षा निकाय परिचालन हुन्छ ।”
 
सरकारले वार्ताको वातावरण बनाउन आन्दोलनकारीका मागलाई पूरा गरेको स्पष्ट पार्दै उहाँले औषधि बोकेको ट्रक र बिरामी बोकेका एम्बुलेन्स चलाउने, जिउँदै पेट्रोल छर्केर आगो लगाउने र पारवहनमा अवरोध गर्ने काम बन्द गर्न आग्रहसमेत गर्नुभयो ।
 
अहिलेको अप्ठ्यारो अवस्था लामो समयसम्म नरहने उल्लेख गर्दै नेकपा(एमाले)का उपाध्यक्ष रावलले अब राष्ट्र, जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर निकर्षको बाटामा लागिने स्पष्ट पार्नुभयो । रासस