काठमाडौँ, ११ मङ्सिर । गृहमन्त्री शक्तिबहादुर बस्नेतले तराई मधेस आन्दोलनमा सरकारले आवश्यकताभन्दा बढी संयम एवम् धैर्यता अपनाइरहेको बताउनुभएको छ ।
“आन्दोलनकारीकै गतिविधि र क्रियाकलापमा सरकार उपस्थित हुने गरेको भए धेरै दुःखद स्थिति आउने थियो तर सरकार यस्तो अवस्था आउन दिने पक्षमा छैन ।”
व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा गृहमन्त्री बस्नेतले तराई मधेसको समस्यालाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न सरकारले प्राथमिकता दिएको छ भन्नुभयो ।
सो आन्दोलनका क्रममा हालसम्म ३५ जना सर्वसाधारण र ११ सुरक्षाकर्मीको अकालमा निधन भइसकेको छ । हालसम्म ९५० घाइते भएका छन् ।
गृहमन्त्री बस्नेतले सीमामा भित्रिएका मालबाहक गाडीलाई सुरक्षित रूपमा गन्तव्यमा पु¥याउने काममा कुनै अवरोध नभएको स्पष्ट पार्दै अहिले राजमार्ग अवरुद्ध छैन भन्नुभयो ।
मानवीय सङ्कट आउन नदिन र अत्यावश्यक वस्तुहरूको कालोबजारी नियन्त्रण गर्न सरकारले अनुगमन टोली बनाइ काम गरेको उहाँले बताउनुभयो । गृहमन्त्री बस्नेतले पेट्रोलियम पदार्थको कालोबजारी गर्न खोज्ने ११९ जनालाई देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको समितिलाई जानकारी दिनुभयो ।
सो अवसरमा सांसदहरू हितराज पाण्डे, पाँचकर्ण राई, वसुन्धरा रोका, राममाया बोगटी, कृष्णबहादुर छम्तेल, कमलाकुमारी घिमिरे, धनबहादुर राना, गीता क्षेत्रीले तराई मधेसमा जारी आन्दोलनलाई वार्ता र संवादका माध्यमबाट हल गर्न सुझाव दिनुभएको थियो ।
समितिका सभापति सुशीलकुमार श्रेष्ठले अत्यावश्यक वस्तुहरूको कालोबजारी नियन्त्रणमा सरकारले ध्यान दिन आग्रह गर्नुभयो । रासस
प्रतिक्रिया