मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हजारौँ बालबालिका खोपबाट वञ्चित

हजारौँ बालबालिका खोपबाट वञ्चित


गौशाला, ११ मङ्सिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अनिश्चितकालीन मधेस बन्द र नाकाबन्दीका कारण महोत्तरीका हजारौँ बालबालिका खोप पाउनबाट वञ्चित भएका छन् ।

अहिले महोत्तरी अस्पताल जलेश्वरसहित जिल्लाको ग्रामीण भेगमा सञ्चालित सम्पुर्ण सरकारी अस्पतालमा बालबालिकालाई दिइने खोप र औषधिको अभाव भएको चिकित्सकले जनाएका छन् ।

अनिश्चितकालीन बन्द, आमहडताल र नाकाबन्दीका कारण सडकमा सार्वजनिक यातायातका सवारीसाधन नचल्दा बालबालिकाका लागि अत्यावश्यक बिसिजी, डिपिटी खोप, पोलियो थोपाको औषधि, भिटामिन ‘ए’ र जुकाको औषधिको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको बालस्वास्थ्य शाखाले जनाएको छ ।

जिल्लाका बालबालिकालाई अनिवार्य रूपमा दिइने खोप र औषधिको अभावका कारण एक लाख १० हजार बालबालिका प्रभावित भएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय मधेसी मोर्चाले संयुक्त रूपमा १०३ दिनदेखि निरन्तर जारी राखेको मधेस बन्द र ६३ दिनदेखि गरिएको नाकाबन्दीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वर, गौशाला, बर्दिवास अस्पतालसहित पाँच प्राथमिक स्वास्थ्य केन्द्र, ६८ स्वास्थ्यचौकी र जलेश्वरमा रहेका सहरी क्लिनिकमा समेत बालबालिकालाई दिइने खोप र औषधिको अभाव भएको जिल्ला अस्पताल महोत्तरीले जनाएको छ । रासस