काठमाडौँ, ६ मङ्सिर । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले मुलुक अत्यन्त कठिन परिस्थितिमा रहेकाले समस्याको समाधानका लागि मधेसमा आन्दोलनरत दल र सत्तापक्षलाई आह्वान गर्नुभयो ।
आन्दोलनका तराईका विभिन्न भागमा अराजक गतिविधि बढेको, सप्तरीमा आज दुई जनाको मृत्यु भएको, एम्बुलेन्समा आक्रमण भएको, औषधिका अभावमा अस्पतालका बिरामीको बेहाल भएको, तराईका कलकारखाना र उद्योगधन्दा ठप्प भएको, विद्यालय सञ्चालन हुन नसकेको तथा इन्धनको कालोबजारी बढेकाले राष्ट्रलाई जोगाउन सबै दल एकताबद्ध भएर तराईका समस्या समाधानतर्फ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
देश आपत्तिबाट आहत भएका बेला सङ्कट समाधान गर्न सरकार गम्भीर नभएको र तराई आन्दोलन सम्बोधन गर्न आफ्नो दलले पेस गरेको दुई संशोधन प्रस्ताव पारित गर्नेतर्फ सरकारले आवश्यक प्रयास नगरेको आरोप पनि नेता पौडेलले लगाउनुभयो ।
वर्तमान समस्याको निकास निकाल्न सरकारले कूटनीतिक पहल नगरेको भन्दै नेता पौडेलले विगतका सहमतिको पालना गर्न सत्ता पक्षलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल राष्ट्र बैंकका गभर्नरलाई घेराउ गर्ने, पुनःनिर्माण प्राधिकरण गठनलगायत नेपाली काँग्रेस नेतृत्वको सरकारमा रहेका दोस्रो ठूलो दल नेकपा (एमाले)ले सहमति भएका विषयलाई वेवास्ता गर्नु मुलुककै निम्ति दुर्भाग्य हो ।”
उहाँले आन्दोलनकारी दललाई संविधान संशोधन प्रस्ताव पारित गराउन आह्वान गर्दै देशको एकता तथा अखण्डताको रक्षा हिमाल, पहाड तराई सबैले मिलेर गर्नुपर्ने औँल्याउनुभयो । तराई–मधेसमा आन्दोलनरत विभिन्न दलका सांसदले सदनमा निरन्तर नाराबाजी गरेपछि कार्यसूचीमा नै प्रवेश नगरी बैठक यही मङ्सिर १० गते बिहान ११ बजेसम्मका लागि स्थगन भयो ।
सभामुखले उहाँहरूलाई बोल्न समय दिने भन्दै सदनको कारबाही अवरुद्ध नगर्न बारम्बार आग्रह गर्नुभएको थियो तर उहाँको अनुरोधलाई ती सांसदले बेवास्ता गर्दै नाराबाजी गरिरहनुभयो ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिका सभापतिले सो समितिको वार्षिक प्रतिवेदन, २०७२ पेस गर्ने कार्यक्रम थियो । रासस
प्रतिक्रिया