काठमाडौँ । साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद्ले पूर्वमुख्य सचिव लिलामणि पौडेल तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठसहित २४ जनाको हस्ताक्षरमा प्रधानमन्त्री केपी ओलीलाई आज ज्ञापनपत्र बुझाएको छ । भारतीय नाकाबन्दीका विषयमा ध्यानाकर्षण गरिएको उक्त ज्ञापनमा सरकारले चाल्नुपर्ने कदमहरुबारे पनि सुझाव दिइएको छ ।
ज्ञापन पत्रमा चीन र बंगलादेशबाट औषधि र पेट्रोलियम पदार्थ आयात गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको छ । ज्ञापनपत्रमा संघीयता कहिल्यै पनि जनताको माग नभएको तर माओवादीले जबरजस्ती लादेको भन्दै यसकै कारण अहिले समस्या बल्झिएको बताइएको छ । तत्कालका लागि संघीयताको व्यवस्था स्थगित गर्नुपर्ने पनि माग गरिएको छ ।
ओलीलाई यो ज्ञापनपत्र बुझाउनेमा पूर्वमुख्यसचिव पौडेल, सीमाविद् श्रेष्ठका अलावा मणि थापा, डा सुरेन्द्र केसी, भरत बस्नेत, बिहारीकृष्ण श्रेष्ठ, आदित्यमान श्रेष्ठ, द्वारिकानाथ ढुंगेल, दिपक ज्ञवाली, हिरण्यलाल श्रेष्ठ, मार्सलजुलुम शाक्य, रत्नसंसार श्रेष्ठलगायत छन् ।
ज्ञापनपत्रमा संसारका शक्तिशाली देश र एजेन्सीहरुलाई नाकाबन्दीका बारे जानकारी गराउनुपर्ने, भारतसँग निरतन्तर संवाद गर्नुपर्ने सुझावका साथै चीनसँग बलियो मैत्री सन्धीमा हस्ताक्षर गर्नुपर्ने पनि सुझाव दिइएको छ । उत्तरी सीमाका धेरैवटा नाकाहरु खोल्नुका साथै चीनसँग संचार र अन्य आयाममा पनि सम्बन्ध बढाउनुपर्ने सुझाव उनीहरुले दिएका छन् ।
नागरिकता छानविन आयोग गठन गर्नुपर्ने, भारतसँगको सीमालाई व्यवस्थित गर्नुपर्ने, काुनन तोड्नेलाई न्यायिक कारवाहीको दयारामा ल्याउनुपर्ने, नेपालको आवश्यकता पुरा गर्नेगरि जलविद्युतमा लगानी गर्नुपर्ने र तल्लो तहसम्म सहभागितामूलक विकास कार्यक्रमहरु लागु गरिनु पर्ने सुझाव पनि उनीहरुले दिएका छन् ।
प्रतिक्रिया