मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाकवि देवकोटाको सौन्दर्य चेतनाको अध्ययन हुनुपर्ने

महाकवि देवकोटाको सौन्दर्य चेतनाको अध्ययन हुनुपर्ने


काठमाडौँ, २५ कात्तिक । साहित्य अनुरागीहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिको गहिरो अध्ययन हुनुपर्नेमा जोड दिएका छन् ।
 
महाकवि देवकोटाको १०७औँ जन्मजयन्तीका अवसरमा रत्न पुस्तकालयले यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले देवकोटा देशको बौद्विक राष्ट्रिय चिन्तनका परिकल्पनाकार भएकाले उहाँका बारेमा अध्ययन र अनुसन्धान अझै अपर्याप्त भएको बताए ।
 
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले नाकाबन्दीले नेपालीहरुको मानसिकता कमजोर बनाएको बेला महाकविको निबन्ध ‘के नेपाल सानो छ ?’ अध्ययन गरेर उत्प्रेरणा लिनुपर्ने बताउनुभयो ।
 
नेपाल प्रज्ञाप्रतिष्ठान कुलपति गङ्गाप्रसाद उप्रेतीले महाकविका कृतिको अत्यधिक समालोचकले समालोचना गरेतापनि उहाँका कृतिमा भएको गहनताका कारण पर्याप्त भने नभएको बताउनुभयो ।
 
महाकविका सुपुत्र डा पद्मप्रसाद देवकोटाले महाकविको सौन्दर्य चेतनाबारे अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले महाकविको भौतिकभन्दा बौद्विक सम्पदा महत्वपूर्ण भएकाले राज्यको ध्यान त्यसतर्फ जानुपर्नेमा जोड दिनुभयो ।
 
सांसद मनमोहन भट्टराई, पुस्तकालयका अध्यक्ष शशीविक्रम राणा, स्रष्टा पद्मसिंह कार्की, विद्यालयका प्रधानाध्यापिका गीता खरेल शिवाकोटीलगायतले महाकवि देवकोटाका बारेमा वैज्ञानिक ढङ्गले अध्ययन हुनुपर्नेमा जोड दिए ।
 
कार्यक्रममा रत्न पुस्तकालयले महाकवि देवकोटालगायतका विभिन्न साहित्य कृतिलाई समेटेर तयार पारेको पुस्तक ‘पूजा’ को लोकार्पण गरिएको थियो ।
 
सोही अवसरमा रत्नराज्य विद्यालयमा विगत ४६ वर्षदेखि सेवा पु¥याउनुभएकी ९० वर्षीया वृद्वा मिश्री महर्जनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै, जन्मजयन्तीकै अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । रासस