मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विदेश पठाइदिने बहानामा रकम ठगी गर्ने पक्राउ

विदेश पठाइदिने बहानामा रकम ठगी गर्ने पक्राउ


काठमाडौँ । विदेश पठाइदिने भनी नक्कली भिसा बनाइ जापान लगिदिने भन्दै रु १७ लाख ५० हजार लिई ठगी गर्नेहरु आज पक्राउ परेका छन् ।

पोखरा घर चाउथेका लक्ष्मी जिसीले जापानमा आफूले चिनेको होटल भएको र त्यहाँ काम लगाई दिने भन्दै पर्वत, ठूलोपोखरी वडा नं ३ घर भएका दीपक पौडेल र कास्की ढिकुर पोखरी–६ घर भएका दलबहादुर गुरुङलाई प्रतिव्यक्ति रु १२ लाख लिई ठगी गरेको प्रहरीले बताएको छ ।

प्रहरी महाशाखाद्वारा दिएको जानकारीअनुसार कात्तिक २० गते दीपक पौडेल र दलबहादुर गुरुङलाई ड्रागन एयरबाट जापान जान लागेको अवस्थामा त्रिभुवन विमानस्थलमा सुरक्षाका लागि खटिएको प्रहरीले जाँच गर्दा निजहरुको राहदानी शङ्कास्पद देखिएपछि सोधपुछ गर्दा सो कुरा पत्ता लागेको हो ।

अनुसन्धानमा खटिएको प्रहरी टोलीले नक्कली भिसा बनाई जापान पठाउने कार्यमा संलग्न ५२ वर्षीय दुर्गा भट्टचनलाई काठमाडौँ सुन्धारा र २९ वर्षीय लक्ष्मी जिसीलाई पोखराबाट पक्राउ गरी थप अनुसन्धानका लागि थुनामा राखेको जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको प्रहरी बताएको छ ।

यस्तै प्रहरीले कात्तिक १८ गते नयाँ बानेश्वर चोकस्थित अटुट सेभिङ एन्ड क्रेडिट फाइनान्सबाट रु सात लाख ७६ हजार ४२० चोरी गर्ने सोही फाइनान्समा कार्यरत हुम्ला मेल्छाम १९ वर्षीय वीरेन्द्र शाहीलाई चोरी रकमसहित आज पक्राउ गरेको छ । रासस