मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

साउदी अरबमा ५० नेपालीको विचल्ली

साउदी अरबमा ५० नेपालीको विचल्ली


साउदीअरब । रोजगारदाता कम्पनीले आवासीय अनुमति पत्र नवीकरण नगरिदिँदा साउदी अरबको एक कम्पनीमा कार्यरत ५० नेपाली कामदार विचल्लीमा परेका छन् ।

साउदीको दमाममा रहेको मोहम्मद अलमोजिक ग्रुप कम्पनी (एमएमजी) मा कार्यरत ती नेपाली कामदारको आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा विचल्लीमा परेका हुन् ।

कम्पनीले आवासीय अनुमतिपत्र नवीकरण नगरिदिँदा त्यहाँ कार्यरत नेपाली कामदारले एक वर्षदेखि बन्दी जीवन बिताउन बाध्य भएका छन् । अधिकांश नेपाली कामदारको एक वर्ष र केही नेपालीको दुई वर्षदेखि नवीकरण हुन सकेको छैन ।

लामो समयदेखि आवासीय अनुमतिपत्रमा नवीकरण नगरेर कम्पनीले दमाम क्याम्पमा ३० जना र जुवैल क्याम्पमा २० जना नेपाली कामदारलाई बन्धक बनाएर राखेको पीडित नेपालीहरुले बताएका छन् । उनीहरुले १२ महिनाको तलबसमेत पाउन सकेका छैनन् ।

आवासीय अनुमतिपत्रको म्याद सकिएपछि स्वतः अवैध ठहर्ने साउदी अरबको कानुनी प्रावधान छ ।

अनुमतिपत्रको म्याद गुज्रेपछि नवीकरण नगरिएको खण्डमा गैर कानुनी हुने भएकाले बाहिर निस्कन नपाउने र चेकका क्रममा प्रहरीले भेटेको अवस्थामा पक्राउ गरी सिधै जेल हाल्ने यहाँको नियम छ ।

उनीहरुले आफूहरुकोे उद्धारमा साउदी अरबमा रहेको नेपाली दूतावासले चासो नदिँदा विचल्लीमा परेको गुनासो समेत गरेका छन् । आफूहरुले भोग्दै आएको समस्याका विषयमा दूतावासलाई जानकारी गराएको भएपनि दूतावासले बेवास्ता गरेको पीडित कामदारले बताएका छन् ।

आफूहरुले भोग्नुपरेको समस्याका विषयमा आठ महिनाअघि नै पटकपटक दूतावासलाई लिखित र मौखिक जानकारी गराइए पनि सुनुवाइ नभएकोे गुनासो स्याङ्जा रापाकोटका महेश पौडेलले गर्नुभयो ।

पीडित पौडेलका अनुसार कम्पनी घाटामा गएपछि त्यहाँ कार्यरत नेपाली कामदारसहित फिलिपिनी र भारतीय कामदारलाई तलब दिन छोडेको र अनुमतिपत्रमा समेत नवीकरण नगरी दिएको हो ।

तलब नपाएका र अवैधानिक भएर बसेका फिलिपिनी र भारतीय कामदारलाई भने उनीहरुको दूतावासले उद्धार गरेर स्वदेश पठाइसकेको छ । नेपाली कामदार भने नेपाली दूतावासले पहल नगरेकै कारण विचल्लीमा परेकोे त्यहाँ रहेका नेपालीको भनाइ छ ।

दूतावास प्रतिनिधि हरि घिमिरेले रोजगारदाता कम्पनीसँग छलफल गरेर रमादानअघि नै स्वदेश पठाउने आश्वासन दिएको भएपनि हालसम्म केही हुन नसकेको र नेपाली कामदारको उद्धारका लागि दूतावासले पहल गरिरहेको बताउनुभयो । रासस