मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मन्त्रिपरिषद्कोे बैठकले तराई–मधेसको समस्या समाधान गर्ने प्रतिबद्धता

मन्त्रिपरिषद्कोे बैठकले तराई–मधेसको समस्या समाधान गर्ने प्रतिबद्धता


काठमाडौँ । मन्त्रिपरिषद्को आज बसेको बैठकले विशेष प्रस्ताव पारित गर्दै तराई–मधेसमा आन्दोलनरत दलका मागलाई ध्यानमा राखी वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था भएको, झुटा ठहरिएका मुद्दाहरु फिर्ता लिने प्रक्रिया आरम्भ भएको र मृतकका परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय भई कार्यान्वयन भइसकेको र अन्य विषयमा पनि यथोचितरुपमा निष्कर्ष र सहमतिमा पुग्ने प्रयास जारी रहेको प्रस्तावमा उल्लेख गरिएको छ ।

तिहार, छठ र लोसारजस्ता चाडपर्वका मुखमा बन्द र सीमा–भन्सार धर्ना कार्य बन्द गरी जनताको जीवन सामान्य तुल्याउनेतर्फ वार्ताको सहज वातावरण सिर्जना गर्न मन्त्रिपरिषद्को बैठकले आन्दोलनरत दललाई हार्दिक आह्वानसमेत गरेको छ ।

‘वर्तमान सरकार तराई र देशभरि नै जनतामा परिरहेको मर्का र असुविधाप्रति अत्यन्तै दुःखित र चिन्तित रहेको र यस्तो सङ्कटको घडिमा आमजनताबाट देखाइएको धैर्य, सद्भाव र सदाशयताको लागि सरकार सबैमा हार्दिक आभार प्रकट गर्दछ –’ प्रस्तावमा उल्लेख छ ।

“विद्यमान समस्या समाधानका लागि अधिकतम लचकताका साथ संवादको बाटोबाट शान्तिपूर्ण ढङ्गले अघि बढ्न तत्पर रहेको कुरा सबैमा विश्वास दिलाउन चाहन्छौँ” विशेष प्रस्तावमा भनिएको छ ।

मन्त्रिपरिषद्को बैठकले नेपाल–भारतका सीमा नाकामा भइरहेको पारवहन तथा आपूर्ति व्यवस्थामा देखिएको अवरोधको स्थिति समाप्त गरी औषधि, खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आयात निर्यात नियमित गर्न एवम् दुई देशबीचको सम्बन्धलाई सुमधुर तथा सुदृढ तुल्याउने कार्यमा योगदान गर्न छिमेकी राष्ट्र भारतसँग आग्रह गरेको छ । रासस