मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हिमाल देखेर कोरियाली पर्यटक लोभिए

हिमाल देखेर कोरियाली पर्यटक लोभिए


कास्की । कोरियन फोटोग्राफी एसोसिएसन (हान्गुक साजिन छाक्का हेफ्फेको अगुवाइमा आएका ४० जना कोरियाली फोटोग्राफरले पोखरा र आसपासको दृश्यले मन्त्रमुग्ध बनेका छन् ।

भूकम्पपछिको नेपालको अवस्थाबारे जानकारी लिन तथा नेपाल सुरक्षित र सुन्दर छ भन्ने सन्देश दिन उनीहरूले कास्कीको हेम्जाकोट, सराङकोट र फेवाताल क्षेत्रका सुन्दर दृश्यलाई क्यामेरामा कैद गरेपछि खुसी भएका हुन् ।

टोलीको नेतृत्व गरेका किम साङ युनका अनुसार आँखै अगाडि सुन्दर साङ (हिमाल) देख्न पाउँदा टोलीमा रहेका सबै सदस्य औधी रमाएका छन् । “हामीले साङ (हिमाल) देख्न पायौँ, दाइँ हालेको, डोको बोकेका गाउँले महिला, सधैँ मुस्कुराउने बालबालिकाले हामीलाई असाध्यै खुसी बनाए”, उहाँले भन्नुभयो, “गाउँलेको स्वागतले त झन् रमाइलो भयो ।” उनको सङ्केत पोखराबाट करिब १८ किलोमिटर उत्तरतिर पर्ने हेम्जाकोट गाउँमा गरिएको अतिथि सत्कारप्रति लक्ष्यित थियो ।

आफूहरूले खिचेका तस्बिर कोरियाको राजधानी सियोलमा प्रदर्शनमा राखिने र नेपालबारे थप जानकारी दिने उनीहरूको योजना छ । आफ्नो पुरानो साथीले खिचेको हिमालको तस्बिर देखेर नेपालबारे जानकारी पाएको बताउने युनले भ्रमण दलमा रहेका सदस्य कोरियाको विभिन्न ठाउँका भएकाले देशैभर नेपालको प्रचार हुने धारणा व्यक्त गर्नुभयो ।

नेपाल आएर हिमालको तस्बिर खिच्ने पुरानो धोको पूरा भएकामा खुसी भएका उहाँले भन्नुभयो, “हिमाल मुस्कुरायो, म खुसी भएँ ।” तस्बिर खिच्नकै लागि हरेक वर्ष नेपाल आउने योजना बनाएको पनि उनले सुनाए ।

कोरियाको राजधानीभन्दा निकै पर रहेको चिवाङ भन्ने गाउँका छाङ जोङ बनले तोकिएको छोटो समयमा हिमालका सुन्दर तस्बिर खिच्न असम्भव भएकोले अर्को पटक पनि नेपाल आउने बताए । उनले हिमालको तस्बिर लिन सकिने ठाउँलाई ‘फोटोग्राफी स्पट’का रूपमा विकास गरिनुपर्ने र त्यहाँ सजिलै यातायातका साधन पुग्नुपर्नेमा जोड दिनुभयो ।

“फोटोग्राफीको शोख बूढेसकालतिर बढ्ने हो, बूढेसकालमा हिँड्न सकिँदैन”, हिमाललाई पृष्ठभूमिमा पारेर आफूले खिचेका तस्बिर देखाउँदै उहाँले भन्नुभयो, “बाटो राम्रो बनाउँ, नेपालमा कोरियन ओइरिन्छन् ।”

टोलीमा रहेकी खिम सू योङले आँखैमा टाँस्सिन आइपुग्ने हिमाल देख्न पाउनु जीवनकै अविस्मरणीय क्षण भएको बताइन् । आफूहरूले खिचेका तस्बिर प्रदर्शनमा आएपछि नेपालबारे चासो बढ्ने र धेरैभन्दा धेरै कोरियाली नेपाल आउने उनको दाबी थियो ।

नेपाल गरिब देश हो भन्ने सुनेका टोलीमा रहेका सबैभन्दा कान्छा १७ वर्षीय सङ जिङले गाउँले जीवन, यहाँका बालबालिका तथा प्राकृतिक सुन्दरताले आफू मन्त्रमुग्ध भएको बताउनुभयो । भर्खरै उच्च माविको शिक्षा सकाएका उनले अर्को पटक प्रेमिकासँग नेपाल आउने र हनिमुन पनि यतै मनाउने विचार भएको सुनाए । आफूलाई नेपाल साह्रै सस्तो लागेको उनको भनाइ थियो ।

टोली नेता किम साङ युनले पनि नेपालको पर्यटन उद्योगलाई माथि लैजाने हो भने भौतिक संरचना निर्माण तथा पर्यटकको रुचिअनुसारका गतिविधिहरू बढाउनुपर्नेमा जोड दिनुभयो । “कोरियन खाएर, पिएर रमाइलो गर्न चाहन्छन्, नाच्नुपर्छ, केटी पनि नजिकै चाहिन्छ”, कोरियामा रहेको क्याथोलिक विश्वविद्यालयमा फोटोग्राफी सिकाउने ६४ वर्षीय बुढाले आफ्ना चिम्सा आँखा झिम्क्याउँदै थप्नुभयो, “गोजीमा ल्याएको पैसा सक्नुप¥यो नि, गोजीमा पैसा छ तर सक्ने ठाउँ छैन ।”

पोखरामा रहेका कोरियन रेस्टुरेन्टमा परम्परागत ‘किम्ची’को स्वाद लिएपछि भने उनी केही खुसी देखिए । नेपाल आउन चाहनेलाई सजिलोसँग हवाई टिकटको उपलब्धता, विश्वभर प्रचार गर्न सके यहाँको पर्यटन उद्योगमाथि उक्लन बेर नलाग्ने उनको धारणा थियो । कोरियन टोलीले पोखरासहित चितवन र राजधानीका विभिन्न क्षेत्रसमेत घुम्ने कार्यक्रम तय गरेका छन् । रासस