मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुलुकले भोग्नुपरेका समस्या समाधान गर्न सांसदको माग

मुलुकले भोग्नुपरेका समस्या समाधान गर्न सांसदको माग


काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर सांसदहरूले मुलुकले भोग्नुपरेको समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो ।

बैठकको सुरुमै नेपाली काँग्रेसका सांसद् रामकृष्ण यादवले समानुपातिक र समावेशी प्रतिनिधित्व, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र कायम राखी तराई मधेसमा देखिएको समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

उहाँले तत्कालीन सरकारले सदनमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव हालसम्म पारित नभएकामा दुःख व्यक्त गर्दै तत्काल उक्त प्रस्ताव पारित गर्न माग गर्नुभयो ।

विगतमा नेकपा (एमाले)का कारण संविधान संशोधनको प्रस्ताव अगाडि बढ्न नसकेको आरोप लगाउँदै उहाँले वार्ता र संवादको माध्यमबाट अगाडि बढ्न आग्रह गर्नुभयो ।

नेकपा(एमाले)का सांसद विकास लम्सालले भूकम्पबाट थिलोथिलो बनेको मुलुकलाई भारतको नाकाबन्दीले थप पीडा दिएको भन्दै भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयक संसद्मा आउन नसक्नुको कारण प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भएको आरोप लगाउनुभयो । “काम गर्न नदिने, विधेयक अड्काउने अनि सरकारले केही गरेन भनेर आरोप लगाउन मिल्छ ?”–उहाँले प्रश्न गर्नुभयो ।

एकीकृत नेकपा (माओवादी)का सांसद सीता नेपालीले नाकाबन्दीका कारण मुलुकको अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै कालोबजारीको नियन्त्रण गर्न र जनतालाई समस्याको यथार्थ जानकारी गराउन माग गर्नुभयो ।

उहाँले तराई मधेसको समस्यालाई वार्ता र संवादको माध्यमबाट हल गर्न आग्रह गर्दै विभिन्न क्षेत्रबाट व्यक्त भएको असन्तुष्टिलाई संविधान संशोधन गरेर समाधान निकाल्न आग्रह गर्नुभयो ।

थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहितले नयाँ संविधानले थारु, मधेसी नागरिकको मुद्दा सम्बोधन गर्न नसकेको भन्दै तत्काल संविधान संशोधन गरेर ती वर्ग र क्षेत्रलाई चित्त बुझाउन आग्रह गर्नुभयो ।

सङ्घीय राज्यको सीमाङ्कनलगायत विषयमा प्रष्ट धारणा नआउँदासम्म संसद्को कारबाही अगाडि बढ्न नसक्ने उहाँको धारणा थियो ।