मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नाकाबन्दी खुलाउन कांग्रेसले हस्तक्षेप गर्ने

नाकाबन्दी खुलाउन कांग्रेसले हस्तक्षेप गर्ने


चितवन । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले देशले भोगिरहेको नाकाबन्दी खोलाउन कांग्रेसले हस्तक्षेप गर्ने बताएका छन् । 
 
नेपाली कांग्रेस चितवनले सोमबार नारायणगढमा गरेको  शुभकामना आदानप्रदान कार्यक्रममा कार्यबाहक सभापति पौडेलले बामपन्थीहरुले समस्या उब्जाउने तर समाधान ननिकाल्ने भएकाले देशले भोगिरहेको विद्यमान समस्या कांग्रेसको मध्यस्ततामा हल हुने दाबी गरे ।
 
‘मधेसमा उठेको जायज मागको सम्बोधन गराएर सीमा क्षेत्रमा भइरहेको नाकाबन्दी खुलाउनका लागि कांग्रेसले हस्तक्षेपकारी भूमिका खेल्नेछ’, उनले भने, ‘अहिले देशले भोगिरहेको मधेसको समस्या समाधान गराएर सीमा क्षेत्रमा भइरहेको नाकाबन्दी समाधानका लागि कांग्रेसले पहल सुरू गर्छ ।’
 
मन्त्रिपरिषदको बैठकले औपचारिकरुपमै भारतसँग सीमाक्षेत्रको अवरोध खुला गराउन अनुरोध गरेलगत्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसका तर्फबाट यस्तो धारणा आएको हो । मधेसी दलहरु र भारतसँग समन्वय गरेर देशले अहिले भोगिरहेको नाकाबन्दी समाधानका लागि पहल गर्नुपर्ने पौडेलको भनाइ छ । 
 
‘प्रतिपक्षी दलका नाताले मधेसवादी दलहरु र छिमेकी भारतसँगको सम्बन्ध सुधारका लागि पहल गर्न कांग्रेसले हस्तक्षेपकारी भूमिका खेल्ने छ’, उनले भने, ‘राष्ट्रियताका सवालमा अब कांग्रेसले हस्तक्षेप गर्छ । सबैतिर सन्तुलन मिलाएर देशको समस्या समाधानका लागि कांग्रेसले पहल सुरू गर्छ ।’
 
राष्ट्रको समस्या समाधान गर्न कांग्रेस सक्षम रहेको बताउँदै उनले बामपन्थीहरु समस्या उव्जाउन सक्ने तर समाधान दिन नसक्ने आरोपसमेत लगाए । अहिले देशमा आइपरेको समस्या बामपन्थीहरुकै कारण आइरहेको आरोपसमेत उनको थियो । 
 
‘मधेसवादी दलहरुले उठाएका जायज मागहरु सम्बोधन गरेर जामभन्दा एमाले र माओवादीले मानेनन् त्यसको परिणाम अहिले देशले नाकाबन्दी भोगिरहेको छ’, उनले भने, ‘समस्या उब्जाउनु मात्रै ठूलो कुरा होइन । त्यसको समाधान दिनु ठूलो कुरा हो । त्यसको लागि कांग्रेसमात्रै सक्षम छ ।’
 
अहिले देशमा पहाडी भर्सेस मधेसी भन्ने भावनाको विकास भइरहेको बताउँदै उनले त्यो अन्त नगरेसम्म समस्याको समाधान नहुने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी देशहरुको चक्र्रो आलोचना नगर्न सुझाव दिए । कुटनीतिक तरिकाले भारतसँगको समस्या समाधान गर्न उनले सरकारसँग अनुरोधसमेत गरे । 
 
देशले कांग्रेसको नेतृत्वमा दक्षिण एशियाकै नमुना संविधान जारी गरेको भन्दै उनले यो संविधान कार्यान्वयनको लागि कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । नयाँ सरकारबारे टिप्पणी गर्दै उनले केपी ओली नेतृत्वको सरकार धेरै समय नटिक्ने बताए । ६ वटा उपप्रधानमन्त्री बनाएर ओली सरकारले ठूलो गल्ती गरेको उनको धारणा थियो । 
 
सोही अवसरमा कांग्रेस नेता डा. शंशाक कोइरालाले प्रतिपक्षमा रहेका बेला कांग्रेस अब संगठन सुधारमा लाग्नुपर्ने धारणा राखे । 
 
कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले अहिले कांग्रेसबाट देशले सन्तुलित प्रतिपक्षको अपेक्षा गरेको बताए । 
 
त्यस्तै कार्यक्रममा कांग्रेसका अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले संसदीय व्यवस्था कायम गराउन कांग्रेसले खेलेको भूमिकाको प्रशंसा हुनुपर्ने बताए ।
 
नेपाली कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा सभासद् रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, अन्जनी श्रेष्ठ, विष्णुमाया परियार, कांग्रेस नेता कृष्णलाल सापकोटा, एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलिया, एमाओवादीका अध्यक्ष यमबहादुर परियार, राप्रपा नेपालका अध्यक्ष बद्री तिमिल्सिनालगायतले मन्तव्य राखेका थिए ।