मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विशेष प्रस्ताव पारित गर्दै आपूर्ति सहज गराउन भारतलाई मन्त्रिपरिषदको आग्रह

विशेष प्रस्ताव पारित गर्दै आपूर्ति सहज गराउन भारतलाई मन्त्रिपरिषदको आग्रह


काठमाडौँ, २३ कार्तिक । मन्त्रिपरिषद्ले विशेष प्रस्ताव पास गर्दै अवरुद्ध सीमा नाका खोली औषधि, ग्यास, पेट्रोल तथा अन्य अत्यावश्यक वस्तुको आयात–निर्यात सहज बनाउन भारतसँग आग्रह गरेको छ । दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन पनि मन्त्रिपरिषद्ले भारतलाई आग्रह गरेको छ ।

मन्त्रिपरिषद्ले गरेको निर्णयमा भनिएको छ,‘नेपाल भारतका सीमा नाकाहरुमा भइरहेको पारवहन तथा आपूर्ति व्यवस्थामा देखिएको अवरोधको स्थिति समाप्त गरी औषधी, खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थहरुलगायत अत्यावश्यक वस्तुहरुको आयातनिर्यात नियमित गर्न एवं दुई देशबीचको सम्बन्धलाई सुमधुर तथा सुदृढ तुल्याउने कार्यमा योगदान गर्न मन्त्रिपरिषद्को यो बैठक छिमेकी मित्रराष्ट्र भारतसँग आग्रह गर्दछ,’ ।

मन्त्रिपरिषद्ले तराई मधेशमा आन्दोलनरत दलहरुलाई वार्ता मार्फत् समस्याको समाधान खोज्न पनि आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।

आन्दोलनका घाइतेको उपचारको व्यवस्था भएको, झुटा मुद्दाहरु फिर्ता लिने प्रक्रिया आरम्भ भएको र मृतकका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने कार्यान्वयन भइसकेको भन्दै मन्त्रिपरिषद्ले तिहार, छठ र ल्होसारको मुखमा बन्द र सीमा भन्सारमा धर्ना कार्य बन्द गर्न आग्रह गरेको छ ।

‘वर्तमान सरकार तराई र देशभरि नै जनतामा परिरहेको मर्का र असुविधाप्रति अत्यन्तै दुखित र चिन्तित छ । यस्तो संकटको घडिमा आमजनताबाट देखाइएको धैर्य, सदभाव र सदाशयताको निमित्त सरकार सबैमा हार्दिक आभार प्रकट गर्दछ,’ मन्त्रिपरिषद्ले भनेको छ । वार्ता र संवादबाट नै समस्याको समाधान हुनेमा पनि सरकारले विश्वास व्यक्त गरेको छ ।