नेपाल

रसुवा बस दुर्घटनामा मर्नेको संख्या ३५ पुग्यो (अपडेट)

रसुवा बस दुर्घटनामा मर्नेको संख्या ३५ पुग्यो (अपडेट)


धादिङ,१८ कात्तिक । रसुवा जिल्लाको चिलिमेका लागि काठमाण्डौंबाट छुटेको यात्रुवाहक मंगलबार दिउँसो १ वजे तिर रसुवाको राम्चे गाविसको ग्राङमा दुर्घटना हुँदा १२ जना महिला र २३ जना पुरुष गरी ३५ जनाको ज्यान गएको छ । दुर्घटनामा परि ४० जना यात्रु घाइते भएका छन् । 
 
घाइतेमध्ये ५ जनाको रसुवा जिल्ला अस्पतालमा, ५ जनाको त्रिशूली अस्पताल उपचार भइरहेको छ भने गम्भीर अवस्थामा रहेका ४१ जनालाई काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । 
 
मृतकमध्ये बस चालक नुवाकोट मनकामना गाविसका भरत गुरुङ,  यात्रुहरु गढीमाई नगरपालिका वडा नम्बर ६ का दीपा चिमोरिया, गोल्जुङ ५ रसुवाका निमा टासी तामाङ र धैवुङ गाविसका गाविस सचिव टिकमवहादुर शाहीको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 
 
काठमाडौंबाट नुवाकोटको विदुर हुँदै रसुवाको चिलिमेतर्फ जाँदै गरेको ना३ख ५७०६ नम्बरको बस सडकबाट करिब २ सय मिटर तलखस्दा घटनास्थलमा ३० जना र नुवाकोटको त्रिशूली अस्पतालमा उपचारका क्रममा ४ जनाको गरी ३५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 
 
पहिरोले क्षतिग्रस्त वनाएको कच्ची सडकबाट यात्रुले खचाखच भरिएको बसको अगाडीको टायर पञ्चर भई अनियन्त्रित हुन पुग्दा बस सडकदेखि २ सय मिटर तल खसेको स्थानीयले वताएका छन । 
 
दुर्घटनाको खबर आएपछि सदरमुकामबाट घटनास्थल पुगेको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सम्मिलित सुरक्षाकर्मी र स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिनुभयो । घटनास्थल सदरमुकाम धुन्चे देखि १२ किलोमिटर टाढा रहेको छ । 
 
बसको भित्र र बाहिर गरेर कम्तीमा ७० जना यात्रु सवार रहेका बताइएको छ । ३५ भन्दा बढी यात्रु घाइते अवस्थामा उद्धार गरिएकाले गम्भिर घाईतेहरुलाई काठमाडौँ र बांकी घाईतेलाई  जिल्ला अस्पताल धुन्चे र नुवाकोटको त्रिशूली अस्पताल पठाईएको प्रहरीले जनाएको छ । 
 
बस पहिरोग्रस्त क्षेत्रबाट खसेकाले  टुक्रा टुक्रा हुनपुगेको स्थानीयले बताएका छन । घाइतेहरुको उद्धार गरिएकाले दुर्घटनास्थलमा रहेका शव संकलन गरी पहिचानका लागि पहल भइरहेको पनि रसुवा प्रहरीले जानकारी दिएको छ । 

शेयर गर्नुहोस:

0
Shares