त्रिशूली(नुवाकोट), १७ कात्तिक । स्थानीयवासीले गाउंँका दलीय संयन्त्र र राजनीतिक दलका स्थानीय प्रतिनिधिले ककनी, चतुराले र ओखरपौवा गाविसमा उचित रुपमा वास्तविक भूकम्पपीडितलाई समावेशी तरिकाले राहत वितरण नगरेको गुनासो गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले भूकम्पको छ महिनापछि ग्रामीणवासीको समस्या बुझ्ने उद्देश्यले सरकारीस्तरवाट ककनी गाविसमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरुले पासाङल्हामु मार्गको त्रिशूली–काठमाडौ सडक मर्मतका नाममा व्यापक अनियमितता हुने गरेको र यसमा डिभिजन सडक कार्यालय नुवाकोटले प्रश्रय दिइरहेको आरोप पनि लगाए ।
प्रजिअ उमेशकुमार ढकालले गाउँ दैवीप्रकोप उद्धार समितिले समावेशी रुपमा भूकम्पपीडितलाई राहत वितरण गर्न नसकेको वताउनुभयो । जिल्ला प्रहरी प्रमुख सिद्धिविक्रम शाहले भूकम्पपछि राहत वितरणमा कतिपयले दुई गाविसबाट लिएको उदाहरण दिनुभयो ।
डिभिजनल सडक कार्यालय नुवाकोटका प्रमुख इ रोहितकुमार विसुरालले सडकको स्तर सुधार, मर्मत तथा नयांँ सडक निर्माणमा कार्यालयले उच्च प्राथमिकता दिएको र गुणस्तरीय काम नभए पुनः निर्माण व्यवसायीलाई काम गर्न लगाइने बताउनुभयो । जिल्ला वन कार्यालयका प्रमुख वन अधिकृत भरतबावु श्रेष्ठले भूकम्पपछि पुनःवासको नाममा कतिपय स्थानमा भूकम्पपीडितले वन फडानी गरेको बताउनुभयो । रासस
प्रतिक्रिया