मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रपति आमाबारे के भन्छिन उषाकिरण ?

राष्ट्रपति आमाबारे के भन्छिन उषाकिरण ?


काठमाडौँ, १४ कार्तिक । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारी शालीन, तर आफ्ना कुरामा दृढ अडान राख्ने नेतृका रूपमा चिनिन्छिन् । ०५० मा पति मदन भण्डारीको निधन भएपछि सक्रिय राजनीतिमा उत्रिएकी उनी सांसद, मन्त्री हुँदै सर्वोच्च राजकीय पदमा पुगेकी छिन् । मिडियामा कमै आउन रुचाउने उनका बानी र स्वभावबारे छोरी उषाकिरण भण्डारीसँग नयाँ पत्रिकाका खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन् ।
 
१) देशको सर्वोच्च राजकीय पदमा पुग्नुभयो । परिवारमा कत्तिको खुसीयाली मनाइयो ?
 
खुसी त स्वाभाविक रूपमा हुने नै भयो । निर्वाचित भएका दिन नेता–कार्यकर्तादेखि सर्वसाधारणसम्म घरमा आउनुभएको थियो । शुभकामना दिनुभयो । हामी परिवारका सदस्यहरूले पनि त्यही हुलमुलमा खुसी बाँड्यौँ ।
 
२) राष्ट्रपतिमा निर्वाचित भएर घर पुग्दा उहाँको कस्तो प्रतिक्रिया थियो ?
 
त्यस्तो छुट्टै केही थिएन । दिनभरिको धपेडीले थाक्नुभएको थियो । घरमा मान्छेहरू पनि धेरै आउनुभएको थियो । राति सुत्नुअगाडि एकछिन मात्रै उहाँसँग भेट भयो ।
 
३) कस्तो कुराकानी भयो ?
 
शुभकामना दियौँ । देश र जनताका लागि राम्रो काम गर्ने विश्वास उहाँको छ । हजुरआमा (विद्याकी आमा) त्यही दिन आउनुभएको थियो । उहाँसँगै एकछिन कुरा गर्नुभयो ।
 
४) आमासँग कस्तो कुरा गर्नुभयो ?
 
उहाँले कुरा गर्दै हुनुहुन्थ्यो । हजुरआमाको फोन आएको आई भइरह्यो । अनि ममीले ‘छोरी राष्ट्रपति भएपछि त आमाको फोन बिजी पो हुन थाल्यो’ भनेर जिस्क्याउनुभयो । एकछिन हाँसो भयो ।
 
५) लामो राजनीतिक जीवनपछि देशको सर्वोच्च पदमा पुग्नुभयो । त्यस्तो वेला क–कसलाई सम्झिनुभयो, क–कसको सहयोगको कुरा गर्नुभयो ?
 
हामीसँग त्यो कुरा त गर्नुभएन । पक्कै पनि ड्याडी (मदन भण्डारी)देखि पार्टीका नेता–कार्यकर्ता, सहयोग गर्ने अरू पार्टीका नेता, सर्वसाधारण सबैलाई सम्झिनुभएको होला । किनभने, यो कुरा उहाँले सार्वजनिक रूपमा पनि भनिरहनुभएको छ ।
 
६) राष्ट्रपति निवासमा परिवारका सदस्य को–को बस्नुहुन्छ ?
 
अहिले त उहाँसँग बहिनी र हजुरआमा मात्रै बस्नुभएको छ ।
 
७) पार्टीको उपाध्यक्ष हुनुहुन्थ्यो, दैनिक सयौँ नेता–कार्यकर्ता भेट्नुहुन्थ्यो । संवैधानिक राष्ट्रपतिका रूपमा शान्त शीतलनिवासमा बस्न असहज त मान्नुभएको छैन ?
 
हिजो (बिहीबार) राति मात्रै शीतलनिवास सर्नुभएको हो । आज (शुक्रबार) पनि भेटघाटमै व्यस्त हुनुभयो । त्यस्तो ‘फिल’ गर्नुभएको छैन ।
 
८) उहाँ राष्ट्रपतिको उम्मेदवार बन्दै हुनुहुन्छ भन्ने परिवारमा कहिले थाहा भयो ?
 
हामीले चाहिँ पत्रिका हेरेर थाहा पायौँ । सुरुमा त्यो सूचना आउँदा हामी ‘सक’जस्तो भयौँ । हामीलाई चाहिँ त्यो हो जस्तो लागेन । ममीसँग सोध्दा ‘हैन अब म त्यता नजाने, पार्टीमै बस्ने’ भन्नुभयो । हामीले पनि त्यही सुझाब दिएका थियौँ, त्यतिखेर चाहिँ । पछिल्लोपल्ट एक हप्ताजति अघि हो । अनलाइनमा आयो, अनि त्यतिखेर थाहा पाएका हौँ हामीले ।
 
दैनिकी
 
९) बिहान कति बजे उठ्नुहुन्छ ?
 
प्राय: साढे ६–७ बजेभित्र उठिसक्नुहुन्छ ।
 
१०) चिया, कफी के रुचाउनुहुन्छ ?
 
कम चिनी भएको कालो चिया खानुहुन्छ ।
 
११) एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
 
हल्का गर्नुहुन्छ । फुर्सद हुँदा आँगनमै केहीबेर हिँड्नुहुन्छ । बिहान प्राय: मान्छेहरू भेट्न आइसकेका हुन्छन् । समय पाउनुभयो भनेचाहिँ हिँड्नुहुन्छ ।
 
१२) योगा गर्नुहुन्छ कि ?
 
योगा पहिले भने गर्नुहुन्थ्यो । तर, अचेल गर्नुहुन्न ।
 
१३) बेलुकामा एक्सरसाइज गर्नुहुन्छ कि ?
 
बिहान गर्न नपाएको दिन आँगनमा हिँड्नुहुन्छ । बेलुका राति नै भए पनि खाना खाएपछि हिँड्नुहुन्छ ।
 
१४) राति कति बजे सुत्नुहुन्छ ?
 
लगभग साढे १०/११ बजेतिर सुत्नुहुन्छ ।
 
१५) सुत्नुअघि केही खाने बानी छ कि ?
 
छैन, खाना खाइसकेपछि केही खानुहुन्न ।
 
१६) घरमा बस्दाखेरि सामान्यत: कस्तो लुगा लगाउन मन पराउनुहुन्छ ?
 
कुर्ता–सुरुवाल लगाउनुहुन्छ ।
 
पत्रपत्रिका/टेलिभिजन
 
१७) पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?
 
पढ्नुहुन्छ । तर, निश्चित टाइम छैन पढ्ने । जतिखेर भ्याउनुहुन्छ, त्यतिखेर पढ्नुहुन्छ ।
 
१८) टेलिभिजन कत्तिको हेर्नुहुन्छ ?
 
टेलिभिजन पनि आफूले भ्याएका वेलामा हेर्नुहुन्छ । बेलुका सबै काम, भेटघाटहरू सिध्याएर समय भयो भने हेर्नुहुन्छ ।
 
१९) आफ्नोबारेमा आएका समाचार हेरेपछि कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
 
ममीले धेरै बाहिर देखाउनुहुन्न । हामीलाई अझै पनि सानै बच्चा छन्जस्तो ठान्नुहुन्छ । आफूलाई असर परेको, प्रभाव परेको ममीले बाहिर कहिल्यै पनि देखाउनुभएन । हामी सानैदेखि त्यही माहोलमा हुर्कियौँ ।
 
२०) आफ्नोबारेमा आउने नकारात्मक समाचारमा पनि प्रतिक्रिया जनाउनुहुन्न ?
 
पत्रिकाहरूमा अन्तर्वार्ता दिएको वेलामा कहिलेकाहीँ हामीले नै ‘ममी यस्तो भन्नुभाथ्यो र’ भनेर सोध्दा ‘मैले त्यस्तो त भनेकी थिइनँ, आफैँ बुझेर लेखेछन्, मैले बोलेको कुरा ट्विस्ट गरेर लेखेछन्’ भन्ने सामान्य टिप्पणी गर्नुहुन्छ ।
 
२१) पत्रिकामा उहाँका कार्टुन कति छापिएका छन् ?
 
एक–दुईपल्ट छापिएका छन्जस्तो लाग्छ ।
 
२२) पहिलोपल्ट छापिएको आफ्नो कार्टुन हेर्दा उहाँको प्रतिक्रिया कस्तो थियो ?
 
‘म यस्ती देखिन्छु र’, ‘यस्ती त देखिन्नँ, त्यत्तिकै बनाएछ’ भनेर हाँस्नुभयो ।
 
२३) कस्तो बनाइएको थियो र कार्टुन ?
 
ममी त्यतिवेला रक्षामन्त्री हुनुहुन्थ्यो । सेना समायोजनको कुरा एकदमै ‘हट टपिक’ थियो । त्यतिवेला ममीले भर्खर केमोथेरापी गर्नुभएकाले कपाल छोटो थियो । अनुहार सुन्निएको थियो । त्यसैले होला, टाउकोको बीचबाट सिउँदो निकालेर दायाँ–बायाँ कपाल छुस्स–छुस्स छाडेको, पुक्क बाहिर निस्केका गाला हाइलाइट गरेर कार्टुन बनाइएको थियो । कार्टुन हेरेर ममी हाँस्नुभयो । ‘म यस्ती देखिन्छु र ? देखिन्नँ होला’ भन्नुभयो ।
 
खाना/खाजा
 
२४) बिहानको खाजामा के खान मन पराउनुहुन्छ ?
 
प्राय: खाना ढिलो खानुहुन्छ । खाना छिट्टै खाने भए एक–दुई पिस बिस्कुट खानुहुन्छ । बाहिर मिटिङमा जानुपर्ने भए ओट्सहरू खानुहुन्छ । दूधमा दलिया पकाएर खानुहुन्छ ।
 
२५) खानामा के खान मन पराउनुहुन्छ ?
 
दालभात, तरकारी नै हो ।
 
२६) माछामासु कत्तिको खानुहुन्छ ?
 
अलि–अलि खानुहुन्छ ।
 
२७) रातिको खानामा के रुचाउनुहुन्छ ?
 
दाल, भात, तरकारी नै हो । रोटी त्यति रुचाउनुहुन्न ।
 
२८) दिनमा कति कपजति चिया खानुहुन्छ ?
 
त्यो त कति गु्रप मान्छे भेट्न आउँछन्, त्यसमा भर पर्छ, यति नै भन्ने छैन । जे होस्, कालो चियाचाहिँ धेरै नै खानुहुन्छ ।
 
२९) अचेल आफैँले खाना पकाउन भ्याउनुहुन्छ कि हुन्न ?
 
अहँ । थुप्रै भयो उहाँले खाना नबनाएको ।
 
३०) किचनमा पस्न रुचि नै देखाउनुहुन्न ?
 
रहर त एकदमै गर्नुहुन्छ । तर, पकाउन भ्याउनुहुन्न । कहिलेकाहीँ भ्याएका वेला किचनमा आएर ‘यो पकाएको भए हुन्थ्यो तिमीहरूले’, ‘यसलाई यसरी पकाउने हो’ भनेर भन्नुहुन्छ ।
 
३१) कुन–कुन परिकारमा त्यस्तो सुझाब दिनुहुन्छ ?
 
साधारण खानादेखि अलि कम्प्लिकेटेड परिकारहरूमा उहाँको सुझाब हुन्छ । ‘यसलाई खासमा यसरी पकाउने हो, तिमीहरूले जानेनौ’ भनेर भन्नुहुन्छ ।
 
३२) उहाँले पकाएर खुवाएको तपाईंलाई याद छैन ?
 
हामी त सानै थियौँ, ममीले खाना बनाउँदा । तर, काकाहरूले भनेअनुसार उहाँले एकदमै मीठो खाना पकाउनुहुन्थ्यो । पकाउन पनि एकदमै रुचि देखाउनुहुन्थ्यो रे ।
 
३३) तपाईंलाई थाहा भएको उहाँले एकदम मीठो बनाउने परिकार के हो ?
 
अहँ । त्यस्तो त थाहा नै छैन मलाई ।
 
३४) उहाँ पहिलोपल्ट सांसदमा निर्वाचित हुँदा तपाईं कति वर्षकी हुनुहुन्थ्यो ?
 
म आठ वर्षजतिकी थिएँ ।
 
३५) त्यतिखेर पकाउनुुहुन्थ्यो कि हुन्थेन ?
 
त्यतिखेर पनि भ्याउनुहुन्नथ्यो । जतिवेलादेखि सक्रिय राजनीतिमा आउनुभयो, त्यतिवेलादेखि भ्याउनुभएको छैन । सानिमाहरू सँगै बस्नुहुन्थ्यो, उहाँहरूले नै पकाउनुहुन्थ्यो ।
 
३६) अरूले पकाएको खाना खाँदाचाहिँ कमेन्ट गर्ने बानी कत्तिको छ ?
 
गर्नुहुन्छ ।
 
फिल्म/संगीत
 
३७) फिल्म हेर्न कत्तिको मन पराउनुहुन्छ ?
 
त्यस्तो धेरै त हेर्नुहुन्न । भ्याउँदा पनि भ्याउनुहुन्न । कहिलेकाहीँ हामी सबैजना बसेर हेरिरहेका छौँ भने उहाँ पनि हेर्नुहुन्थ्यो । अहिले त त्यो पनि भ्याउनुहुन्न ।
 
३८) कस्तो फिल्म मन पराउनुहुन्छ ?
 
यस्तो नै भन्ने छैन । टिभीमा जस्तो फिल्म आइरहेको छ, त्यही हेर्ने हो ।
 
३९) आफूले हेरेका फिल्मका कलाकारहरू चिन्नुहुन्छ ?
 
अहँ । चिन्नुहुन्न ।
 
४०) टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ?
 
अहँ, हेर्नुहुन्न । भ्याउँदै भ्याउनुहुन्न ।
 
४१) उहाँले हलमा गएर फिल्म हेरेको थाहा छ तपाईंलाई ?
 
फिल्म हेर्नकै लागि हलमा जानुभएको छैन । कहिलेकाहीँ प्रिमियर गरेको वेलामा बोलाउनुभयो भने त्यस्तोमा चाहिँ जानुभएको छ । जस्तो, क्याराभान स्क्रिनिङ हुँदा बोलाउनुभएको थियो, गएर हेर्नुभयो ।
 
४२) गीत–संगीतप्रति कत्तिको रुचि छ ?
 
रुचि त पक्कै पनि होला । तर, गीत बजाएर एकदम सुन्ने, कलेक्सनहरू राख्ने भन्ने केही पनि छैन ।
 
४३) कहिलेकाहीँ आफैँ गीत गुनगुनाउने गर्नुहुन्छ ?
 
अहँ । गर्नुहुन्न ।
 
रेस्टुरेन्ट/खानपिन
 
४४) परिवार सँगै लगेर खाजा/खाना खान रेस्टुरेन्ट कत्तिको जानुहुन्छ ?
 
ममी रेस्टुरेन्टतिर गएर खान अलि अल्छी–अल्छी मान्नुहुन्छ । त्यस्तो कोसिस नै हुन्न । बरु, ‘के मीठो खानेकुरा हो, घरमै सबैजना बसेर खाऔँ न’ भन्नुहुन्छ ।
 
४५) भनेको रेस्टुरेन्टबाट घरमै मगाउने ?
 
हो । त्यस्तोमा चाहिँ रुचि दिनुहुन्छ । रेस्टुरेन्ट नै जान भने त्यति रुचि देखाउनुहुन्न । गइहाले पनि हाम्रो करले मात्रै जानुहुन्छ ।
 
४६) बाहिर खाँदा उहाँलाई मन पर्ने परिकार कस्तो हुन्छ ?
 
ममीलाई चाइनिज फुडहरू बढी मन पर्छ ।
 
४७) कस्तो रेस्टुरेन्ट मन पराउनुहुन्छ ?
 
हामी सँगै गएर खाने बेइजिङ गार्डेन, एभरेस्ट होटेलको चाइनिज रुममा हो ।
 
परिवारलाई समय
 
४८) परिवारलाई कत्तिको समय दिनुहुन्छ ?
 
उहाँको पर्सनल टाइम त एकदमै कम छ । त्यही सुत्ने वेला हो, आफ्नो टाइम । बिहान उठेर नित्यकर्म गरेदेखि राति सुत्ने वेलासम्म पूरै टाइम पार्टी, संगठन र कार्यकर्तालाई हो । राति उहाँ आउँदा ढिलो भइसकेको हुन्छ । त्यसैले प्राय: एक्लै खाना खानुहुन्छ । हटकेसमा भएको खाना समाचार हेर्दै खानुहुन्छ । त्यतिवेलै हो, हामीसँग गफ हुने । ममीको पर्सनल टाइम त्यत्ति नै हो ।
 
४९) परिवारसँग बसेर कहिलेकाहीँ गफगाफ हुँदैन ?
 
कहिलेकाहीँ जमघटका वेलामा हुन्छ । आक्कल–झुक्कल, वर्षमा दुई–तीनपल्ट मात्रै हो ।
 
५०) त्यस्तो जमघटमा राजनीतिक गफगाफ कत्तिको हुन्छ ?
 
राजनीतिक कुरा पनि अलि–अलि हुन्छ । समसामयिक कुराहरू हुन्छन् ।
 
५१) कत्तिको खुलेर कुरा गर्नुहुन्छ ?
 
आफूले थाहा पाएका राजनीतिक कुरा कत्तिको सेयर गर्नुहुन्छ ?
 
त्यसरी खुल्नुहुन्न । हामीले देखेको–सुनेको कुरा गर्दा अलि–अलि कमेन्ट मात्रै गर्ने हो । तर, आफैँ सुनाउनुहुन्न ।
 
५२) विदेश जाँदा परिवारका सदस्यलाई सँगै लिएर जान कत्तिको रुचि देखाउनुहुन्छ ?
 
ममीको प्राय: औपचारिक भ्रमण हुन्छ । त्यस्तोमा उहाँले भन्नु पनि भएको छैन, हामीले रुचि पनि देखाएका छैनौँ ।
 
पहिरन
 
५३) आफूले लगाउने पहिरनमा कत्तिको सचेत हुनुहुन्छ ?
 
सचेत हुनुहुन्छ । कटन र सिल्कको सारी सजिलो मान्नुहुन्छ ।
 
५४) लुगामा आफैं आइरन गर्नुहुन्छ ?
 
अहँ । अहिलेसम्म उहाँले आइरन गरेको देखेको छैन । उहाँलाई शारीरिक रूपमा पनि ‘स्ट्रेस’ हुन्छ, भ्याउँदा पनि भ्याउनुहुन्न ।
 
५५) कस्ता लुगा लगाउन मन पराउनुहुन्छ ?
 
सारी–ब्लाउज मन पराउनुहुन्छ । कटन, सिल्कको सारी रुचाउनुहुन्छ ।
 
५६) आफ्ना लागि लुगा किन्न आफैँ पसलसम्म जानुहुन्छ ?
 
जानुहुन्न । त्यो काम हामी दुई बहिनीको हो । नभ्याएर हो कि रुचि नभएर हो, थाहा छैन । तर, उहाँ पहिलेदेखि नै किनमेलमा बजार जाने गर्नुहुन्न ।
 
५७) तपाईंहरूले ल्याइदिएको लुगामा कमेन्ट कत्तिको गर्नुहुन्छ ?
 
ए, त्यो त सधैँ गर्नुहुन्छ । कहिले ‘कपडाको क्वालिटी राम्रो भएन’ भन्नुहुन्छ । कहिले रङ ममीले भनेको जस्तो हुँदैन । कहिलेकाहीँ त एउटै पसलमा दुई–तीनपल्ट जानुपर्ने पनि हुन्छ । आफू भने जानुहुन्न ।
 
५८) पहिलोपल्ट कालो चस्मा कहिले लगाउनुभएको थियो, याद छ ?
 
सायद हामी सात–आठ कक्षामा पढ्थ्यौँ होला । चुनाव पनि थियो, ममीलाई फिल्डमा जानुपर्ने थियो । उहाँको आँखामा पनि समस्या थियो । त्यतिवेलै हो ‘मलाई चस्मा ल्याइदेऊ’ भन्नुभयो । सुरुमा ल्याइदिएको मन परेन, अनि अर्को ल्याइदिएको याद छ ।
 
५९) चस्मा कति फेर्नुहुन्छ ?
 
फेर्नुहुन्न । सुरुमा ल्याइदिएको चस्मा भाँचियो । त्यसपछि अर्को ल्याइदिएका थियौँ । त्यही अहिलेसम्म लगाइरहनुभएको छ ।
 
रिसाउने बानी
 
६०) रिसाउने बानी कत्तिको छ ?
 
हत्तपत्त रिसाउनुहुन्न । रिसाए पनि थोरै रिसाउनुहुन्छ । व्यक्त हुने गरी कमै रिसाउनुहुन्छ । एकदम रिसाएर आक्रोशमा आउनेचाहिँ कहिले पनि गर्नुभएको छैन ।
 
६१) कस्ता कुरामा रिसाउनुहुन्छ ?
 
बाहिरको त त्यति थाहा भएन । घरमा चाहिँ हामी (छोरीहरू)ले उहाँलाई जिस्क्यायौँ भने रिसाउनुहुन्छ । उहाँले केही कुरा ‘सिरियस्ली’ भन्दा पनि हामीले जिस्क्यायौँ भने ‘तिमीहरूले मलाई सिरियस्ली नै लिँदैनौ’, ‘जहिले पनि मलाई हावामा उडाउँछौ’ भनेर रिसाउनुहुन्छ ।
 
६२) रिसाउनुभयो भने नबोल्ने, हकार्ने के गर्नुहुन्छ ?
 
रिसाउँदा पनि उहाँ ठूलो स्वरले बोल्नुहुन्न । ममी धेरै संयम हुनुहुन्छ । आफूलाई एक्सप्रेस गर्नुहुन्न । हामीले जिस्क्याउँदा ‘दुईजना मिलेर मलाई उल्लिबिल्ली पार्छौ’ भनेर भन्नुहुन्छ । त्यसपछि नर्मल भइहाल्नुहुन्छ ।
 
६३) उहाँलाई एकदम रिस उठेको कुनै घटना जुन तपाईंलाई सम्झना छ ?
 
रिसाउनुभएको त होइन, तर चित्त दुखेको चाहिँ आमा (हजुरआमा)को बारेमा गलत समाचार आउँदा हो । उहाँले ‘आमालाई वृद्धाश्रममा राखिन्’ भन्ने गलत खबर समाचारमा आयो । त्यतिखेर हजुरआमा आफैंले ‘समाजसेवा गर्न वृद्धाश्रम खोल्छु’ भन्नुभाथ्यो । फेरि समाचार कस्तो वेला आयो भने एक–दुई दिनमा ममी, मामा सबै त्यहाँ हेर्न जाने कुरा थियो । त्यसपछि ममीले जाने कार्यक्रम पनि क्यान्सिल गर्दिनुभयो । त्यतिखेर ममीले साह्रै नराम्रो मान्नुभएको थियो ।
 
६४) तपाईंलाई गाली गरेको, हकारेको कुनै सम्झना छ ?
 
ममी सक्रिय राजनीतिमा लागेपछि हामीलाई स्याहार्ने फुर्सद भएन । होस्टेलमा बस्नुपर्छ भन्ने भयो । अनि बूढानीलकण्ठ स्कुल शिक्षाका हिसाबले पनि राम्रो हुन्छ भन्ने सुझाब आएपछि त्यसको इन्ट्रान्सको तयारी गर्नुपर्ने भयो । त्यसका लागि मलाई एकजना टिचर पनि राख्दिनुभाथ्यो । मैले टिचर आउँदासम्म पढ्थेँ, बाँकी समय पढ्दिनथेँ । त्यतिवेलाचाहिँ मलाई बेस्सरी गाली गर्नुभएको थियो पढिन भनेर ।
 
६५) अनि बहिनीलाई नि ?
 
हामी गंगाहिटीमा बस्थ्यौँ, त्यतिवेला । डेरामा किचन माथिको तलामा थियो । हामी तलको फ्लोरमा बस्थ्यौँ । बहिनीको बानी एकदम चकचक गर्ने थियो । सानोमा ढोकापछाडि बसेर मान्छे आउँदा तर्साउने गर्थी । एक दिन खाना खाएर ममी तल झर्दा उसले बेडरुमको ढोकामा लुकेर तर्साई । उसले म भनेर तर्साएको हो, तर ममी पर्नुभयो । त्यतिखेर ‘यसरी मान्छे हर्टअट्याक भएर मर्न पनि सक्छ’ भनेर उसलाई बेस्सरी गाली गर्नुभएको थियो । बहिनी त्यतिवेला ५–६ कक्षामा पढ्थी ।
 
६६) रिस उठेको वेला कहिलेकाहीँ तपार्इंहरूलाई पिट्नुभएको छ कि छैन ?
 
त्यो त छैन । ममीलाई हात उठाएको मनै पर्दैन । अरूले पनि बच्चाहरूलाई पिटिरहेको छ भने ममीले नराम्रो मान्नुहुन्छ । आफूले पनि हात उठाउनुभएको छैन ।
 
खुसी/दु:खी
 
६७) कस्ता कुरामा एकदम खुसी मान्नुहुन्छ ?
 
ममी एकदम संयम हुनुहुन्छ । एकदम धेरै खुसी भएर ‘ओहो’, ‘आहा’ गरेको मलाई याद छैन । अनि एकदम आक्रोशमा पनि आउनुहुन्न । त्यो लेभललाई सधैँ एकनासको राख्नुहुन्छ । कहिलेकाहीँ गाउँको आफ्नो पहाडको कुरा गर्दा, हजुरबुबाको कुरा गर्दा, आफू सानो हुँदाको कुरा गर्दा भने खुसी भएको देखिनुहुन्छ । त्यस्तो कुरा ममी ‘अहिले पनि उतै छु’जस्तो गरेर हामीलाई सुनाउनुहुन्छ ।
 
६८) बाल्यकालका कुनै कुरा, जुन उहाँले रमाइलो मानेर सुनाउनुहुन्छ ? त्यस्तो स्पेसल त छैन । जे हो, त्यही साँचो कुरा बताइदिने भएकाले साथी, दाजुभाइसँग खेल्दा, केही बदमासी गर्दा ममीलाई सामेल गराउनुहुँदैनथ्यो रे । झुटो नबोल्ने हुनाले सबैकुरा बताइदिनुहुन्थ्यो रे । अनि, सबैले पिटाइ खाने रे ।
 
६९) कस्ता कुरामा एकदम दु:ख, नराम्रो मान्नुहुन्छ ?
 
त्यस्ता कुराहरू प्राय: हामीसँग सेयर गर्नुहुन्न ।
 
उपहार
 
७०) परिवारका सदस्य, साथीभाइहरूलाई उपहार कत्तिको दिनुहुन्छ ?
 
रहर गर्नुहुन्छ । फेरि पनि त्यो हामीले नै किनेर ल्याइदिनुपर्छ ।
 
७१) उपहारमा कस्ता चिजहरू दिनुहुन्छ ?
 
हेरी, हेरी हुन्छ । विदेशीसँग भेट्नुपर्ने भयो भने ढाका टोपी, सारीहरू दिनुहुन्छ । घरपरिवारका सदस्यलाई दिनुपर्ने भयो भने सारीहरू, लुगाहरू दिनुहुन्छ ।
 
७२) विदेशबाट फर्किंदा तपाईंहरूका लागि के ल्याइदिनुहुन्छ ?
 
ममीले प्राय: चकलेट नै हो ल्याउने ।
 
७३) उहाँ आफूलाई चाहिँ गिफ्ट कत्तिको आउँछ ?
 
ममीलाई पनि आउँछ । मान्छेहरूले ल्याइदिनुहुन्छ । चकलेट, काजु, बदामहरू, सारीहरू ल्याइदिनुहुन्छ । दक्षिण एसियाली देशहरूमा जाँदा ममीलाई सारी मनपर्छ भन्ने थाहा पाएर ‘त्यहाँको विशेष हो’ भनेर ल्याइदिनुहुन्छ ।
 
मदन भण्डारीको सम्झना
 
७४) पार्टी नेता र श्रीमान्का रूपमा मदन भण्डारीलाई कत्तिको ‘मिस’ गर्नुहुन्छ ?
 
हामीलाई त्यसबारे कहिल्यै भन्नुहुन्न । हामीलाई त्यस्तो फिल नै गराउनुभएन । तर, कहिलेकाहीँ ममी एक्लै भावुक बन्नुहुन्छ । बोलेर हामीलाई चाहिँ भन्नुहुन्न ।
 
७५) एक्लै भावुक भएका, रोएका त्यस्ता कुनै घटना छन् ?
 
कुनै–कुनै सिचुएसनमा भावुक बन्नुहुन्छ, रुनुहुन्छ । तर, हामीलाई देखाउन चाहनुहुन्न । हामीले पनि उहाँको कुरा बुझेर सोध्दैनौँ ।
 
७६) कुन वेलामा बढी भावुक बन्नुहुन्छ ?
 
जेठ ३ गते अलि बढी भावुक बन्नुहुन्छ । प्राय: एक्लै बस्नुहुन्छ । धेरै बोल्नुहुन्न । त्यस्तो वेला हामीसँग बसेर बोल्ने गर्नुहुन्न । सकेसम्म आफूभित्रै आफैँसँग ‘डिल’ गर्न खोज्नुहुन्छ ।
 
७७) त्यस्तो वेला तपाईंहरूले उहाँलाई कसरी सम्झाउनुहुन्छ ?
 
हामी त्यस्तो वेलामा ममीसँग इमोसनन्ली, फिजिकल्ली एक्सप्रेस गर्दैनौँ ।
 
७८) बुबाका बारेमा तपाईंहरूसँग गफगाफ कत्तिको गर्नुहुन्छ ?
 
हामीले कहिलेकाहीँ सोध्छौँ । त्यसको बारेमा जवाफ दिनुहुन्छ । आफैँचाहिँ केही भन्नुहुन्न । त्यतिवेला त ड्याडी भूमिगत हुनुहुन्थ्यो । ‘हामी जन्मेको कति दिनमा ड्याडी हेर्न आउनुभयो’ भनेर सोध्छौँ । उहाँले ‘तँलाई यति दिनमा हेर्न आउनुभाथ्यो’, ‘तँलाई यति दिनमा देखेको’, ‘यस्तो भएको थियो’ भनेर बताउनुहुन्छ ।
 
७९) बुबा हुनुभएको भए यस्तो हुन्थ्यो भनेर केही भन्नुहुन्न ?
 
यो टपिक हाम्रा लागि अझै पनि धेरै ‘सेन्सेटिभ’ छ । त्यसैले यो टपिकमा ममीसँग कुरा गर्न सकिँदैन । उहाँले पनि ‘तिमीहरूको ड्याडी भएको भए’ भन्ने कुरा गर्नुहुन्न । राजनीतिक विषयमा अरूहरूसँग गफ गर्दा भने कुरा गरेको सुनिन्छ । तर, हामीसित होइन । सायद ममीले हामीहरूको चित्त दुख्छ भनेर होला कुरा नगर्नुभएको । हामीले पनि ममी कुन वेला कस्तो मुडमा हुनुहुन्छ, त्यो कुरा कोट्याउँदैनौँ ।
 
८०) उहाँ (मदन)सँगका रमाइला क्षणबारेमा पनि सुनाउनुहुन्न ?
 
हामीसँग त भन्नुहुन्न । अरू कार्यकर्ताहरू अथवा आफ्नै नातेदारहरू जो भूमिगत वेलामा सँगै हुनुहुन्थ्यो, उहाँहरू आउनुभएको छ भने बसेर कुरा गर्नुहुन्छ । उहाँहरू समकालीन भएर पनि होला । हामी दुईजना (छोरीहरू)सँग बसेरचाहिँ त्यस्ता कुराहरू गर्नुहुन्न ।
 
८१) भूमिगतकालको उहाँ (आमा–बुबा)हरूको स्वभावबारे केही थाहा पाउनुभएको छ ?
 
ममीले भनेको त होइन, अरूहरूले नै सुनाएको । भूमिगतकालमा पनि ड्याडी सबै मान्छेहरूसँग, आफूसँग विचार, मन नमिलेकालाई पनि अलि मिलाएरै लैजान खोज्ने हुनुहुन्थ्यो रे । ममी भने आफूलाई मन परेको छैन भने डिप्लोम्याटिक ढंगले नभईकन सीधै ‘तपाईंहरूले किन यस्तो भनेको’, ‘