मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाह्रवर्षदेखि साङ्लोले बाँधिएका नेपालीको उद्धार

बाह्रवर्षदेखि साङ्लोले बाँधिएका नेपालीको उद्धार


चितवन, १३ कात्तिक । एउटा व्यक्ति १२ वर्षदेखि साङ्लोले बाँधिएर गोठमा गोरुसँगै बाँच्दै आएको छ भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्दछ । तर यस्तै घटना भएको छ लम्जुङको चिती गाउँ विकास समिति–८ रामचोक फाँटमा । 
 
स्थानीयवासी ४० वर्षीय मकान सिंह नेपाली २८ वर्षको उमेरदेखि सोही गोठमा साङ्लोले बाँधिएर गोरुसँगै बस्दै आउनुभएको थियो । १२ वर्षको उमेरमा मानसिक कमजोरी भएपछि परिवारले उपचारको प्रयास नगरेको भने होइन । आर्थिक अवस्था कमजोर रहेको नेपाली परिवारले सानोतिनो प्रयास गरेपनि सफल भएन । निजलाई धान्न नसकेपछि घरदेखि एक किलोमिटर टाढा दोर्दी खोलाको किनारमा गोरुसँगै गोठमा साङ्लोले बाँधेर राखिएको भाई सजीव नेपालीले बताउनुभयो । 
 
यो खबर सुनेर मानव सेवा आश्रमका दुई शुभेच्छुकले दुई दिनको प्रयासपछि बुधबार लम्जुङबाट उद्धार गरी बिहीबार हेटौँडास्थित आश्रममा नेपालीलाई बुझाएका छन् । भरतपुरका केशव अधिकारी र प्रेमप्रभा अधिकारीले ८४ पूजामा लम्जुङ पुगेको बेला स्थानीयवासी प्रतिमा सेढार्इंले खबर गरेपछि मानव सेवा आश्रम हेटौँडासँग समन्वय गरी नेपालीको उद्धार गरेको बताउनुभयो । 
 
दिसापिसाबसमेत बसेको ठाउँमै गर्दै आएका नेपालीका परिवारले हार खाएको गुनासो सुनेपछि आफूहरुले बिहीबार दिउँसो १२ बजे मानव सेवा आश्रम मकवानपुरसम्म लगेर आश्रमका संयोजक रामजी अधिकारीलाई जिम्मा लगाएको उद्धारमा सहभागी केशव अधिकारीले बताउनुभयो । जान नमानेपछि विभिन्न प्रलोभन देखाएर फकाएर नेपालीलाई आश्रमसम्म पु¥याइएको अर्का सहयोगी प्रेमप्रभा अधिकारीले बताउनुभयो । 
 
परिवारमा रहेका सातजना बालबालिका र ७० वर्षीया वृद्ध आमा सुभु नेपाली र छरछिमेकीलाई जुनसुकै बेला जे पनि गर्नसक्ने भय भएपछि गोठमा लगेर बाँधेको भाइ सजीवले बताउनुभयो । रोगले नच्यापेको बेला केही नगर्ने भद्र हुने र छोडिदिए कामसमेत गर्ने भएपनि रोगले च्याप्दा धेरै समय उत्तेजित भएर मनलाग्दी बोल्ने गरेको भाइ सजीवको भनाइ छ । बिहान–बेलुका घरबाट खाना लगी खुवाउँदै आएको भए पनि रोगले च्याप्दा खानासमेत फालिदिने, नखानेसमेत गर्ने गरेको परिवारले जनाएको छ । 
 
लामो समयसम्म छोराको बिजोग हेर्न बाध्य आमा सुभुले हेटौँडामा छोरालाई जिम्मा लगाएपछि निको भएर घर फर्किने आशा गर्नुभयो । आश्रमका संयोजक अधिकारीले मनोरोगी नेपालीको उपचार तथा स्याहारसम्भार गरी पुनःस्थापना गरिने बताउनुभयो । आश्रममा नेपाली जस्तै ७० जना रहेका छन् । रासस