मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्वतन्त्र सांसद मुसलमानको उपराष्ट्रपतिमा उम्मेदवारी

स्वतन्त्र सांसद मुसलमानको उपराष्ट्रपतिमा उम्मेदवारी


काठमाडौँ, १३ कात्तिक । स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । 

व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वर पुगेर उहाँले आज विहान ११ः१५ मा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

कपिलवस्तु जिल्लाको क्षेत्र नं २ बाट स्वतन्त्र रुपमा सांसद निर्वाचित हुनुभएका मुसलमान विगतमा नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील हुनुहुन्थ्यो । मुसलमानको प्रस्तावकमा अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का र समर्थकमा जनजागरण पार्टी नेपालका सांसद लोकमणि ढकाल रहनु भएको छ ।

उम्मेदवारी दर्ता गराएपछि राससको जिज्ञासामा उम्मेदवार मुसलमानले आफू विजयी भए राष्ट्रिय स्वाभिमानलाई सगरमाथा जस्तै अटल तुल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

राष्ट्र र राष्ट्रियता खतरामा परेको समयमा तराई—मधेसको एउटा प्रदेशमा पछाडि परेको जाती तथा समुदायबाट राज्यको महत्वपूर्ण निकायमा प्रतिनिधित्व हुने र तराईमा जारी आन्दोलनको पनि समाधान खोज्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले राष्ट्रपति र प्रधानमन्त्री पाएको, एकीकृत नेकपा (माओवादी) ले सभामुख समेत पाएको अवस्थामा आफू उपराष्ट्रपति पदमा विजयी भए संविधान कार्यान्वयन गर्न सहज हुने धारणा राख्नुभयो ।

सङ्घीय गणतन्त्र नेपालको शिशु संविधानको सहज कार्यान्वयन गर्न तथा राष्ट्र र राष्ट्रियताको रक्षाका लागि समेत सबै वर्ग तथा समुदायलाई राज्यको मुलप्रवाहमा ल्याउनुपर्ने उम्मेदवार मुसलमानको कथन थियो ।

तपार्इं विजयी हुनुहुन्छ त ? भन्ने जिज्ञासामा उहाँले निर्वाचनमा विजय र पराजय भन्ने कुरा सामान्य भएकाले राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण्ण राख्न आफू प्रतिवद्ध रहेको तथा ठूला दलले उपयुक्त विकल्प दिए आफू वाधक समेत नहुने बताउनुभयो । रासस