मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महिला राष्ट्रपति भएपछि सर्वत्र खुसी

महिला राष्ट्रपति भएपछि सर्वत्र खुसी


चितवन । नेपालको दोस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी बुधबार निर्वाचित भएसँगै नागरिक हर्षित भएका छन् । 
 
महिलालाई देशकै पहिलो राष्ट्रपतिको रुपमा पाउँदा खुसी लागेको उनीहरुको भनाइ छ । नेकपा एमाले चितवनकी जिल्ला उपसचिव पार्वती रावलले यो क्षण सबै महिलाहरुको अस्तित्वसँग जोडिएको कारण र सम्पूर्ण महिलाहरुको ऐतिहासिक सफलताको क्षण भएकाले सबै महिला खुसी हुनुपर्ने बताइन् ।
 
आफ्नो श्रीमान्को मृत्यु हुँदा श्रीमतीलाई सँगै चितामा राखेर जलाउने नेपाली समाज परिवर्तन भएर अहिलेको अवस्थासम्म आइपुग्दा आफू व्यक्तिगत रुपमा खुसी रहेको उनले बताइन् । ‘हिजो त्यो सतीप्रथाबाट अगाडि बढेको नेपाली सामाज आज त्यही महिलालाई सम्मान गरेर राष्ट्र प्रमुखजस्तो महत्वपूर्ण जिम्मेवारीमा पुग्नु नेपाली महिलाहरुको लागि अत्यन्तै गौरवको दिन होे’ रावलले भनिन् ।
 
भरतपुर–१० निवासी यादवप्रकाश लामिछानेले महिलाले पनि देशको सम्मानित पदमा निर्वाचित हुँदा महिला वर्गलगायत सम्पूर्ण देशवासी नै गर्भवान्वित भएको बताए । विद्या भण्डारी कर्मठ नारी भएका कारण उनी राष्ट्रपति हुँदा सम्पूर्ण देशवासी खुसी हुने स्थिति रहेको उनको भनाइ छ । ‘उनको राम्रो राजनीतिक अनुभव छ’ उनले भने, ‘त्यसकारण पनि उनलाई राष्ट्रपतिको रुपमा पाउँदा हामी देशवासी खुसी छौँ ।’
 
राष्ट्रध्यक्षजस्तो पदमा महिला निर्वाचित हुँदा अब महिला अधिकारले फड्को मार्ने भरतपुरका नारायणप्रसाद अधिकारीले बताए । विद्या भण्डारी राष्ट्रपति हुनु स्वागतयोग्य कदम भएको उनले बताए । तर पछि उनको काम कस्तो हुन्छ भन्ने कुरा महत्वपूर्ण रहेको अधिकारीले बताए ।
 
भरतपुर–१० कालिकापथ घर भएका उमानाथ पौडेलले महिला राष्ट्रपति हुँदा आफू खुसी भएको बताए । सरकारसँग मिलेर निष्पक्ष राष्ट्रपतिको रुपमा काम गरे राम्रो हुने उनको भनाइ छ । आफूहरुले उनलाई पूर्ण रुपमा समर्थन गरेको उनको विचार थियो । पुरुष प्रमुख पदमा हुँदा खासै उपलव्धि हासिल गर्न नसकेको अवस्थामा महिला राष्ट्र प्रमुख हुँदा केही परिवर्तन हुन्छ की भन्ने लागेको सीता सापकोटाको आशा रहेको छ । ‘अब भने महिलाका दिन आउँछन् भन्ने विश्वास लागेको छ’ उनले भनिन् ।
 
‘पुरूषले केही गर्छन की भन्ने त्यत्तिकै भयो’ उनले भनिन्, ‘अब महिलाले गर्ने पालो आएको छ । केही गरे भने राम्रो हुने थियो ।’ संविधानले पनि पूरा गर्न नसकेका महिला अधिकारका सवालहरु अब महिला राष्ट्रपति भएको अवस्थामा पूरा हुने आशा लिएको उनले बताइन् । भरतपुर दिपेन्द्रचोकका पुस्तक पसल सञ्चालक पुनिसचन्द्र रेग्मीले विद्या भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुँदा उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
 
उनले अब सत्तामा पुगिसकेपछि देश र जनताको लागि काम गर्नुपर्ने उनको भनाइ छ । जनताको पीरमर्काहरुलाई बुझेर समस्या समाधानतर्फ कदम चाल्दा उचित हुने उनको विचार छ । रमाइलो चोकका साइकल व्यवसायी शम्भु दुवाडी विद्या भण्डारीलाई नेपालको पहिलो राष्ट्रपति भएकोमा बधाई व्यक्त गर्छन् । अहिलेसम्म कमाएको लगनशिलता र अनुशासनको कारण उनी राष्ट्रपतिजस्तो सम्मानित पदमा निर्वाचित हुन सफल भएको उनको तर्क छ ।
 
आफूहरुले महिला राष्ट्रपति पाएकोमा खुसी भएको उनी बताउँछन् । नयाँ राष्ट्रपति विद्या भण्डारीले देशमा व्याप्त राजनीतिक असहमति, मुल्य वृद्धि, इन्धन अभावलगायतका समस्या हल गर्नमा लागि पर्नु पर्ने उनले विचार व्यक्त गरे ।