मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सार्थक वार्ता गर्ने उच्चस्तरीय समितिको निर्णय

सार्थक वार्ता गर्ने उच्चस्तरीय समितिको निर्णय


काठमाडौँ, १२ कात्तिक । उच्चस्तरीय राजनीतिक समन्वय समितिले तराई मधेसमा आन्दोलनरत समूह र दलसँग सार्थक वार्ता गर्ने निर्णय गरेको छ । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा समितिका संयोजक एवम् एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज बसेको समितिको बैठकले आन्दोलनरत  मधेसी मोर्चाले वार्ताको क्रममा राखेको पूर्व सर्तलाई पूरा गरेर समस्याको समाधान गर्ने विषयमा छलफल भएको थियो । 
 
समितिले सरकारी वार्ता टोलीलाई वार्ताको क्रममा पूर्वसर्त पूरा गरेर अगाडि बढ्ने गरी सहमतिको वातावरण तयार पार्न समेत आग्रह गरेको छ । समितिका सदस्य एवम् नेकपा (माले) का महासचिव चन्द्रप्रकाश मैनालीले राजनीतिक समस्यालाई राजनीतिक तवरबाट नै समाधान गर्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिइएको जानकारी दिनुभयो । 
 
समितिको बैठक साँझ पुनः बस्ने र समस्या समाधानको ठोस योजनासमेत बनाउने गरी तयारी गरिएको उहाँले बताउनुभयो । आन्दोलनरत पक्षसँग वार्ता र संवादलाई निरन्तरता दिने र इन्धनलगायत आयातमा देखिएको समस्या समाधान गर्न विशेष पहल गर्न सरकारलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ । 
 
भारतले अघोषित रुपमा नाकाबन्दी कायम राखेपछि इन्धनलगायत अत्यावश्यकीय वस्तुको आयात रोकिएको र जनजीवन प्रभावित भएकाले त्यसलाई सकेसम्म चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ । 
 
आन्दोलनरत दलसँग वार्ता र भारतसँग कूटनीतिक तवरले संवाद अगाडि बढाउनुपर्ने बैठकको निष्कर्ष रहेको बुझिएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति निर्वाचनलगायत विषयमा समेत कुराकानी भएको थियो । रासस