कञ्चनपुर, ५ कात्तिक । सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षाकर्मीले कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा संयुक्त गस्तीको कार्य गर्दै आएको छ ।
दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा हुने नक्कली नोटको कारोबार, अवैध हातहतियार ओसारपसार, लागुऔषध, मानवबेचबिखन र लुटपाटका घटना न्यून गर्न संयुक्त गस्तीको कार्य गर्दै आएका हुन् ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोर्डर आउटपोस्ट दोधारा र भारतीय सीमा सुरक्षा बल नौजलिया पोस्टका सुरक्षाकर्मीले नियमित गस्तीको कार्य गर्दैआएको पोस्टका सशस्त्र प्रहरी नायब निरीक्षक नवराज खड्काले बताउनुभयो ।
“नियमित संयुक्त गस्तीको कार्यले सीमावर्ती क्षेत्रका नेपालीमाथि गरिने दुव्र्यवहार, सीमा अतिक्रमण विवाद र चोरी तस्करीका घटनामा कमी आएको पाएका छौँ” – उहाँले भन्नुभयो ।
दसँैलगायतका चाडपर्वका बेला सीमा क्षेत्रमा अप्रिय घटना हुन नदिन गस्तीलाई बढाइएको उहाँले बताउनुभयो ।
हरेक महिनाको दुई पटक र आवश्यक परे जुनसुकै बेला संयुक्त गस्ती गर्ने गरी नेपाल र भारत सीमा सम्बन्धलाई मजबुत बनाएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) नौजलियाका कमाण्डर बलवीर सिंहले बताउनुभयो ।
सिंहले भन्नुभयो – “गस्तीका क्रममा सीमास्तम्भको नियमित अनुगमनसमेत गर्दै आएका छौँ ।” रासस
प्रतिक्रिया