मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

दशैं र देश : भूपेन्द्र थापा

दशैं र देश : भूपेन्द्र थापा


तीन वर्षपछी देश फिरेको । एयरपोर्टबाट ट्याक्सीमा  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको मुलद्धारबाट निस्कनेवित्तिकै देखिएका फाट्टफुट्ट  सवारी साधन अनि धुलो, सडक वारीपारीको फोहोर, ढिस्का देख्दा देश अझै उस्तै रहेको अनुभुति दिलायो । ट्याक्सी चालक फोनमा तेल मिलाइदिन अनुरोध गर्दै थिए । उताबाट पेट्रोल लिटरको चारसय पर्ने जवाफ आइरहेको थियो । फोनपश्चात चालक भन्दै थिए—‘कसरी गरिखानु हजुर अव गाडी थन्क्याउनु पर्छ’ ।
 
विमानस्थलदेखि कोटेश्वरसम्मको भाडा १५ सय भनेपछी मैले एकपटक न्यूयोर्क सम्झिए । नेपालभन्दा प्रतिब्यक्ति आय आकाश पाताल फरक रहेको अमेरिकाको न्यूयोर्ककोभन्दा झण्डै बढी थियो त्यो फेयर । विहान ६ वजे विमानस्थलमा उत्रिएर कोटेश्वरस्थित निवासमा गएर चिया खानापश्चात दिउसो पुगियो एनआरएनएको विश्व सम्मेलनस्थल आर्मी अफिसरर्स क्लव भद्रकालीमा । जतिवेला  निर्वाचन परिणाम घोषणा भइसकेर अन्य विभिन्न शिर्षकका गोष्ठीहरु हुदै थिए । तत्पश्चात लागियो महाबौद्ध÷असनतिर । जहिल्यै पनि नेपाल आउदा मेरो पहिलो प्राथमिकतामा यो क्षेत्र र पशुपति मन्दिर पर्छन ।
 
सकेसम्म छिटो पुगिहाल्न मन लाग्छ । दशैं किनमेल गर्नेको भिड हेर्न लायक थियो । धुलोले हिडिसक्नु छैन तै पनि मास्क लगाएरै भएपनि मानिसहरु खुशीसाथ किनमेलमा अभ्यस्त थिए । महाबौद्ध क्षेत्रका होलसेल व्यापारीहरु पनि व्यस्तै देखिन्थे । तर पहिलो जस्तो व्यापार नरहेको उनिहरुको गुनासो थियो । खासगरी नेपालीहरुको क्रयक्षमताअनुरुपका विविध सामान आउने तातोपानी नाका महिनौदेखी वन्द थियो । अनि कहाँबाट आओस सामान र बेचुन । असनको भिड पनि हेर्न लायक थियो । खुट्टा राख्ने ठाउँ थिएन । मलाई एउटा टोपी किन्नु थियो । गजपको ढाका टोपी तर पहिला मास्क किने र मुख छोपी हाले । नत्र घाँटी दुख्न थालिसकेको थियो । त्यत्रो भूकम्पपश्चात पनि  जिउका तिउ रहेका असन क्षत्रका पाटी पौवा, सत्तल र थोत्रा घरहरु देख्दा लाग्यो त्यहाँ भूकम्प आएकै थिएन । भोलिपल्ट विहानै पुगियो पशुपतिनाथ । पूर्वक्षत्रतिर गइयो । 
 
मरेका लासहरु पुर्ववत जलिरह्ेकै थिए । दर्शन गर्न आएकाहरु सकेको आवाज निकालेर  भोलेऽऽ भन्दै कराउदै हिडिरहेका देखिन्थे । निधारमा टिका र कान अनि टाउकामा फुल सिउरेका दर्शनार्थी यत्रतत्र देख्दा मन धार्मिक भइरहेको थियो । जुन मलाई असाध्यै मन पर्छ । भूकम्पमा जोगिएका महत्वपुर्ण सम्पदामध्येमा पशुपति मन्दिर पनि एक थियो । त्यसैले त प्रवेशद्धार अघिल्तिर जुत्ता÷चप्पल राख्नेको भिड अनि मन्दिरमा दर्शन गर्नेको लाइन देख्दा लाग्यो भूकम्पले धेरैका घर अनि थुप्रै सम्पदा ढलेपनि भगवानप्रतिको आस्था किञ्चित पनि ढलेको छैन । दर्शन गरेर निस्कदै गर्दा बाटोमा अलिक अपाङ्गजस्तो लाग्ने एक बालकले पैसा मागे । दिन भनेर गोजिमा हातमात्रै के राखेको थिए । अरु दश÷पन्ध्र जना मधेशी अनुहारका बालबालिकाले ‘दाइ मलाइ दिनोस, दाइ मलाइ दिनोस’ भन्दै घेरा हालिहाले ।
 
अनि माग्नका लागी बसेकाहरुको लाइनमा हेरे त्यहाँ तिनै बालबालिकाका अभिभावक थिए । लाग्यो मधेसले अरु त अरु पशुपतिनाथमा पनि राम्रै अधिकार जमाइसकेछ । त्यसो त दर्शनार्थीको रुपमा पनि मैले थुप्रै मधेशी अनुहारहरु देखेको थिए । यसअघि त्यति बाक्लो संख्या कमै देखेको थिए । सायद नयाँ राजनीतिक परिस्थितिसंगै हरेक क्षेत्र संगसंगै धर्मकर्म र धार्मिक क्षेत्रमा पनि मधेशको उपस्थिति बाक्लिदो छ । खुशी नै लाग्यो मधेशको नाममा राजनीति गर्ने केही स्वार्थी नेताहरुका कारण चलिरहेको बेफ्वाकको आन्दोलनका कारण तराइ र पहाडी समुदायविचमा अविश्वास झनै झाङ्गिदो छ । तर कम्तिमा भगवानप्रतिको आस्था त एउटै छ । जुन एउटा माध्यम हुन सक्छ फाटेका ती मनहरु जोडनका लागी ।
 
 फर्कदै गर्दा सडकमा एउटा गाडीको पछाडी लेखिएको थियो ‘श्री पशुपतिनाथले हामी सवैको कल्याण गरुन ।’बेलुकीपख हानिए सोल्टी होटल । जहाँ  गैरआवासिय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम एवं प्रधानमन्त्रीको उपस्थितिमा समापन समारोह हुदै थियो । प्रधानमन्त्री केपी ओलीको बोल्ने पालो आयो । उनी बोल्दै मात्र के थिए फुत्त टुप्लुकिए प्रधानमन्त्री पदका उनकै पुर्वप्रतिष्पर्धी  काग्रेस सभापति शुशिल कोइराला । अनि ओलीले भने —‘यसैविच भर्खरैमात्र पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शुसिल कोइराला पनि हामीमाझ उपस्थित हुनु भएको छ ।
 
माइक मेरो हातमा छ म नै उहाँलाई आयोजकका तर्फबाट अतिथिको आसनग्रहण गरिदिनुहुन अनुरोध गर्दछु’। त्यसपश्चात हल तालिले गुञ्जायमान भयो । अनि थप भाषण गर्दै उनले थपे—‘अहिलेको संविधान अतुलनिय छ । समावेशी छ । लगभग सवैको माग संबोधन गरिएको छ । तपाईहरुको माग पनि जस्ताको तस्तै समेटिएको छ की एक पटकको नेपाली सधैंको नेपाली । हलबाट हैन÷छैन भन्ने केही स्वरहरु आए । अनि चतुर ओलिले सम्म्याइहाले । ‘सयमा सय नहुन सक्छ । मान्छे पुर्ण सन्तुष्ट कहिल्यै हुदैन । यदी भयो भने त्यसले थप प्रगति गर्न सक्दैन ।’ उनले आफ्नै शैलीमा थप भाषण गर्दै थिए ‘सहमति र सहकार्यका लागी कांग्रेसलाई हात्ति, घोडा जे जे चाहिए पनि लिएर सरकारमा सहभागी हुन आग्रह गर्दछु’ । 
 
जतिवेला मेरो मथिङ्गलमा केही कुराहरु घुमिरहेका थिएकी त्यत्रो भूकम्पले थला पारेको छ त्यसमाथि भएन भारतिय नाकाबन्दीले बजारमा अभावै अभाव छ । यात्रा गर्न पर्याप्त सवारी साधन छैनन । पकाएर खान घरमा इन्धन छैन । अझ कतिको न बासै छैन । र पनि सवै हाँसेकै छन । खुशी छन । जे छ त्यसमा चित्त बुझाएका छन र त बिहान उठनेवित्तिकै आफ्नो कर्ममा यथावत तल्लिन छन । हास्न विर्सिएका छैनन । त्यसमा पनि भारतले यत्रो दुःख दिदा पनि अलिकति पनि हच्किएका छैनन् । एडजस्ट गरेकै छन । पछिल्लो समयमा केही राष्ट्रवादी अडान देखाएका र भाषमा हसाउन जान्ने ओलीलाई नै खुशीसाथ नेपालीले प्रधानमन्त्रीको रुपमा स्वीकार गरेका छन् । तर यहाँनेर ओलीजीले हँसाउदा हसाउदै पनि काम भने गम्भिर रुपमा गर्न जरुरी छ । हैन भने त्यो हास्यरस पनि धेरै टिक्नेवाला छैन ।
 
ओलीजीको जँुगा वा उखानटुक्काका कारणले उनी पपुलर  प्रधानमन्त्री  पक्कै पनि भएका हैनन । राजनीतिक घटनाक्रमको पछिल्लो चरणमा उनले देशको पक्षमा राखेको अडान नै एकमात्र कारण हो । तर अव उनमा त्यसलाई जोगाइराख्ने चुनौती त छ नै । साथसाथै भारतिय नाकावन्दीको विकल्प दिएर नेपाली जनजीवन सामन्य बनाउने अनि भूकम्पबाट क्षतविक्षत भएका घरबाँस बनाइदिने र जनताको ओठमा सक्कली मुस्कान लेराइदिने । अनिमात्रै उनको उखानमा जनता मनै देखीको उच्छवास हाँसो हास्न सक्छन हैन भने उनले जतिसुकै हाँसउठने उखान भनेपनि रिस उठने हुनेछ । उनले हेक्का राख्नु जरुरी छ । मलाई विश्वास छ उनलाई यस कुराको राम्रो चेतना छ । तर  उनका पछिल्ला क्रियाकलापले उनलाई पनि सुस्त देखिन थालिसकेको छ । करिव दुइ हप्ता वितिसकेको छ । तर अभाव जिउका तिउ छ । झन त्यसमा मान्छे पिच्छे उपप्रधानमन्त्री र जोपायो त्यसलाई मन्त्री नियुक्त गरेर आलोचनाको पात्र हुन थालिसकेका छन् । मलाई आशा छ यी तमाम कुराका बाबजुद उनले बाँकी मुख्य कामहरु तमाम गर्ने छन । यदी यसपटक ओली पनि असफल भएभने नेपालीसामु अव कुनै त्यस्ता नेता बाँकी छैनन जसबाट केही हुन्छकी भनेर आश गर्न सकियोस । त्यसैले हाललाई तुरुन्त ओलीको आलोचना गर्नूभन्दा पनि उनलाई घच्घच्याउनचाही जरुरी छ । 
 
भोलिपल्ट सवेरै लागियो गृहनगर दोलखा÷चरिकोटतर्फ । भक्तपुरहुदै अघि बढदै गर्दा सडकको दाँया बाँया रहेको पम्पमा तेलभर्नका लागी पालो कुरेर बसेका करिव तीन किलोमिटर लामो लाइन देख्दा फेरी पनि कुटुक्क मन खायो  ‘साला भारत’ ।धुलिखेलबाट तलतिर देखिएका जस्ताका टहरा हुन वा खाडिचौरबाट उकालो लाग्दै गर्दा सिन्धुपाल्चोकका विभिन्न गाउँ हुन या त  मुडेबाट ओरालो झर्दै गर्दा देखिएका कटेजहरु, सवै उत्तिकै टल्किएका थिए । जस्तामात्रै हैन बाटोबाट देखिएका त्यहाँका मानिसका मधुर मुस्कानसंगै दाँत पनि उत्तिकै टल्किएका थिए । आफ्नो इलम गरिराखेकै छन । गाडीतर्फ हेरेर मुस्कान छरेकै छन । अजिव लाग्यो अनि गर्व पनि । आफ्नो नेपाली जाती देख्दा । प्रवासमा रहनेहरुले त समाचार हेरेर मनै दुखाउने मात्रै त हो । तर यहाँ त स्वयं भोगेका छन त्यो पिडा र कष्ट र पनि ओठमा त्यो मधुर मुस्कान हराएको छैन । हास्न विर्सिएका छैनन । अजिव लाग्यो केही वर्ष मात्रै बाहिरिएर फर्किएको म स्वंय नेपालीलाई त । सोंचे झन विदेशीहरुलाई कति अजिव लाग्दो हो यस्तो देख्दा यत्रो पिडा छ । तरै पनि अनुहारमा कहिकतै देखिदैन । पहिलेजस्तो छतभरी राखेर हिडेका यात्रुबाहक बसहरु साह्रै नै फाट्टफुट्ट मात्रै देखियो । तरैपनि एउटा गाडीमा लेखिएको थियो ‘बलदेउ भिमसेन’ ।
 
 
थाहा छैन देशले भोग्ने हरेक दुःखद घटनाअघि पसिना आएर चर्चामा आउने गरेको दोलखामा रहेका भिमसेनले कति बल दिन्छन । तर एउटा विश्वासचाही दह्रैसंग गढ्यो कि नेपालीहरुलाई केही न केही अजिव किसिमको दैविक वलचाहि प्राप्त छ र त सदैव हास्न सकेका छन । गरिव सही तर खुशी छन । हरेक अप्ठ्याराहरुलाई सहजै स्वीकारेका छन । घरपुग्दै गर्दा बजारमा कतै बजिरहेको थियो दोल्खाली लोक गायक कुमार बस्नेतको यो गित  ‘भिमेश्वरको मेला, भेट भएको बेला, लाइदेउ माया ए साइली डर मान्नु पर्दैन ।’सबैको जय होस ! सवैमा शुभ दशैं तथा तिहारको शुभकामना ।