मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ग्यासको चर्को अभावले उपभोक्ता संकटमा

ग्यासको चर्को अभावले उपभोक्ता संकटमा


काठमाडौँ । हिन्दूको महत्वपूर्ण चाड दसैँ तथा तिहार सुरु भए पनि राजधानी काठमाडौँमा खाना पकाउने ग्यासको अभावका कारण उपभोक्ता चर्को सङ्कट ब्यहोर्न बाध्य छन् ।

चाडवाडमा घर जान चाहने उपभोक्ताले पेट्रोलियम पदार्थको अभावमा घर जान पाएका छैनन् भने ग्यासको अभावमा काठमाडौँमा बस्न सक्ने अवस्था रहेको छैन ।

ग्यासको खोजीमा भौतारिरहेका उपभोक्ताले डिपो र पसलमा नाम लेखाएको पनि धेरै दिन भयो, तर अन्य पेट्रोलियम पदार्थ सिमित मात्रामा आएपनि ग्यास भने आउन सकेको छैन । भारतले अघोषित नाकाबन्दी गरेपछि सबैभन्दा बढी मार सहरिया तथा मध्यमवर्गीय उपभोक्तालाई परेको छ ।

ग्यासको खोजी गर्दै नेपाल ग्यासको डिपो बालाजु औद्योगिक क्षेत्रमा रित्ता सिलिण्डर लिएर उपभोक्ता लाइन लागेका छन् । ‘ग्यास पाइन्छ भनेर आएको, तर पाइएला जस्तो छैन’ काठमाडौँ महानगरपालिका– ६ बाइपास निवासी प्रमोद राईले भन्नुभयो ।

“पेट्रोल, डिजल र मट्टीतेल नपाइएपनि खाना पकाउने ग्यास पाइदासम्म घरायसी समस्या आएको थिएन, तर चाडवाडको समयमा समस्या थपियो”–ग्यासको लाइनमा बस्नुभएकी रमिला प्रधानले भन्नुभयो ।

‘‘घर जाउँ बस छैन, यहीँ बसौँ ग्यास छैन, अब कसरी बाँच्ने होला ?”–ग्यासको सिलिण्डरमा टाउको अड्याएर बस्नुभएकी नयाँ बसपार्कमा होटल व्यावसाय गर्दै आउनु भएकी धादिङकी प्रेमा लामाले भन्नुभयो, “ग्यास नपाउँदा भोकै मर्ने अवस्था आयो ।’

नेपाल आयल निगमकाअनुसार चाडवाडको समयमा ग्यासको माग अत्याधिक हुने गर्दछ । काठमाडौँ उपत्यकामा मात्रै करिब ३० लाख ग्यासका उपभोक्ता रहेका छन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घले निगमसँग वैकल्पिक माध्यमबाट ग्यास ल्याउने अनुमति दिन आग्रह गरेको थियो । सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले चीनको स्वशाति क्षेत्र तिब्बतको खासादेखि २३ किलोमिटर टाढा रहेको न्यालमबाट ग्यास ल्याउने तयारी गर्नुभएको थियो । तर आजसम्म निगमले सो प्रस्तावमाथि कुनै निर्णय गरेको छैन ।

व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले ग्यास आयात गर्न चाहने कम्पनीलाई तत्काल स्वीकृति दिन सरकारलाई निर्देशसमेत गरिसकेको छ । तर हालसम्म कुनै निर्णय भने हुन सकेको छैन । जसका कारण उपभोक्ता लामो लाइनमा बसेरसमेत ग्यास पाउने अवस्थामा छैनन् ।

ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले उपत्यकाको कुल खपत मध्ये ९० प्रतिशतभन्दा बढी ग्यास वीरगन्ज नाकाबाट आउने भएकाले सो नाका अवरुद्ध भएकाले समस्या बढी परेको बताउनुभयो ।

काठमाडौँ उपत्यकामा दैनिक ३० हजार सिलिण्डर आवश्यक पर्दछ । तर विगत दुई महिनाभन्दा बढीदेखि तराई आन्दोलनका कारण सहज रूपमा काठमाडौँमा ग्यास आयात हुन सकेको छैन । निगमले कुल २९ हजार मेट्रिक टन ग्यास आयात गर्ने कोटा निर्धारण गरेको छ ।

हाल आयात भएका ग्यास उपत्यका बाहिर नै वितरण गरिएको छ । काठमाडौँमा सहज रूपमा ग्यास उपलब्ध हुनका लागि वीरगन्ज नाका सहज हुनुपर्ने महासचिव थापाको भनाइ छ ।

“जनताको चुल्हो निभेको छ । बिक्रेताका पसल बन्द छन् । उपभोक्ता मारमा छन्, तर आयात नै नभएपछि कसरी वितरण गर्ने, हामी पनि उस्तै समस्यामा छौँ”–थापाले भन्नुभयो ।

निगमले भने व्यवसायीलाई तीन÷चार दिनमा समस्या समाधान हुने आश्वासन दिँदै आएको छ । तर आश्वासन दिएको पनि लामो समय भइसक्यो, तर समस्या घट्नेभन्दा पनि बढ्दै गएको छ ।

निगमले सार्वजनिक र निजी सवारीलाई भन्दै कुल सात लाख पचास हजार लिटर इन्धन वितरण गरेपनि धेरै उपभोक्ताले नपाएको गुनासो गरेका छन् । रातभर लाइनमा बस्दा पनि इन्धन नपाएको भन्दै उपभोक्ताले निगमको व्यवस्थापन फितलो भएको बताएका छन् ।

निगमका प्रवक्ता दीपक बरालले खाना पकाउने ग्यासको चर्को अभाव रहेको स्वीकार गर्नुभयो । उहाँले रक्सौल नाका नखुलेसम्म समस्याको समाधान हुन नसक्ने र उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “निगमको तहबाट गर्न सक्ने अवस्था केही छैन । समस्याको समाधान गर्ने प्रयास जारी छ”– काठमाडौँमा एकाध दिनमा ग्यास भित्रने कुनै अवस्था भने छैन । व्यावसायीले चीनबाट ग्यास ल्याउन गरेको प्रस्तावमाथि पनि निगमले हालसम्म कुनै निर्णय गरेको छैन ।

सरकारले भने इन्धन आयातमा वैकल्पिक उपाय अपनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले इन्धन आपूर्तिका लागि वैकल्पिक उपाय अपनाउने निर्णय गरेको सरकारका प्रवक्ता अग्नि खरेलले जानकारी दिनुभयो । रासस