काठमाडौँ । सरकारले आन्दोलनरत पक्षलाई आन्दोलन स्थगित गरी वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनरत दललाई वार्तामा आउन प्रधानमन्त्री केपी शर्मा ओलीले लिखितरुपमा आजै आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता अग्नि खरेलले जानकारी दिनुभयो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएका प्रवक्ता खरेलका अनुसार प्रधानमन्त्री ओलीको संयोजकत्वमा विभिन्न राजनीतिक दलसँग छलफल गरेर उपयुक्त वार्ता समिति गठन गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी, बैठकले इन्धन आपूर्ति व्यवस्थालाई सहज बनाउन भारत सरकारसँग कूटनीतिक पहल गरिरहेको र त्यसका लागि वैकल्पिक उपाय अपनाउन थप कदम अगाडि बढाउने निर्णय गरेको छ ।
आजको बैठकले प्रधानमन्त्रीको स्वकीय सचिवमा इन्द्र भण्डारी र प्रेस सल्लाहकारमा प्रमोद दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले अघिल्लो सरकारले बढुवा गरेका केही विशिष्ट श्रेणीका बढुवा भएका कर्मचारीलाई पदस्थापन तथा अन्य केहीलाई सरुवा गर्ने निर्णयसमेत गरेको छ । यसअन्तर्गत प्रशासनतर्फका केदारबहादुर अधिकारीलाई सामान्य प्रशासन अतिरिक्त समूहबाट क्षेत्रीय प्रशासक पश्चिमाञ्चल, पोखरामा, राजेन्द्रप्रसाद नेपाललाई महालेखा नियन्त्रकको कार्यालयबाट क्षेत्रीय प्रशासन कार्यालय पूर्वाञ्चल धनकुटामा, महेशप्रसाद दाहाललाई सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहबाट क्षेत्रीय प्रशासन मध्यमाञ्चल हेटौँडामा र मोहनकृष्ण सापकोटालाई सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहबाट क्षेत्रीय प्रशासन कार्यालय मध्यपश्चिमाञ्चलमा र श्रीरामकुमार आचार्य क्षेत्रीय प्रशासक, क्षेत्रीय प्रशासन कार्यालय हेटाँैडाबाट श्रम सचिव श्रम तथा रोजगारमन्त्रालयमा पदस्थापन तथा सरुवा गर्ने निर्णय गरेको छ ।
इन्जिनियरिङ सेवाबाट भीमप्रसाद उपाध्यायलाई सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहबाट नेपाल ट्रस्टको कार्यालयमा सचिवमा र सुरेशप्रकाश आचार्यलाई क्षेत्रीय प्रशासन कार्यालय धनकुटाबाट प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा र पदस्थापन गर्ने निर्णय गरिएको छ । रासस
प्रतिक्रिया