मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एनआरएनए नेतृत्वका लागि तीन प्रतिस्पर्धी

एनआरएनए नेतृत्वका लागि तीन प्रतिस्पर्धी


काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नयाँ नेतृत्वका लागि तीन प्रत्यासी देखिएका छन् ।

काठमाडौँस्थित सोल्टी होटलमा सुरु भएको साताँै अधिवेशनबाट नयाँ कार्यसमितिका लागि अध्यक्षमा वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष टिबी कार्की र पूर्व महासचिव रतनकुमार झाले उम्मदवारी दिनुभएको हो ।

निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष भवन भट्ट, कुमार पन्त, लक्ष्यबहादुर गुरुङ, खगेन्द्र जिसी, नरेन्द्रबहादुर भाट, शमशेरसिंह थापाले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, महासचिव पदका लागि डा बद्री केसी, पुष्पराज तिमल्सिना, पुष्प थापा र रञ्जु थापा तथा सचिव पदमा अर्जुनकुमार श्रेष्ठ, धरम केसी, गणेश केसी र सुरेन्द्रबहादुर श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी कोषाध्यक्ष पदमा भैरवप्रसाद ढकाल, चिरञ्जीवी थापा, हिक्मतबहादुर थापा, राजेन्द्र शिवाकोटी र यमकुमार गुरुङको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदको सहमतिका लागि प्रयास भइरहेको र भोलि दिउँसोसम्म पनि सहमति नभए निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिने एनआरएनएका महासचिव कुमार पन्तले राससलाई जानकारी दिनुभयो ।

एनआरएनएको बन्दसत्र भर्खरै सकिएको छ । भोलि बिहीबार दिउँसो १ बजे निर्वाचन हुनेछ । 

यसअघि अधिवेशनको एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, वर्तमान अध्यक्ष शेष घले, निर्वतमान अध्यक्ष जिवा लामिछाने र पूर्व अध्यक्ष देवमान हिराचनले संयुक्त रुपमा उद्घाटन गर्दै सकेसम्म नेतृत्व सर्वसम्मत हुनुपर्नेमा जोड दिनुभएको थियो ।

राति अबेरसम्मको बन्दसत्रले संस्थाको साङ्गठनिक र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै संस्थाका विभिन्न राष्ट्रिय समन्वय परिषद्का गतिविधिको प्रतिवेदन प्रस्तुत भई पारित भएको महासचिव पन्तले बताउनुभयो ।

एनआरएनको ७१ राष्ट्रिय समन्वय परिषद् र एक अन्तर्राष्ट्रिय समन्वय परिषद् रहेको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गरेपछि शुक्रबार एनआरएन विश्व सम्मेलन सुरु हुनेछ । सम्मेलनको राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता रहेको छ ।

आगामी असोज ३० गते काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन सकिने आयोजकले जनाएको छ ।

यो पटकको सम्मेलनले भूकम्पपछिको अवस्थामा नेपालमा पुनःनिर्माण र पूर्वाधार विकासमा लगानी अभिवृद्धि गर्नेगरी योजना कार्यक्रम ल्याइने बताइएको छ । रासस