मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

तीन दलीय एकता कायम भएमात्र संविधान कार्यान्वयन

तीन दलीय एकता कायम भएमात्र संविधान कार्यान्वयन


चितवन । प्रधानमन्त्रीको निर्वाचनमा दुई ध्रुवमा देखिए पनि तीन ठूला राजनीतिक दलबीचको एकतालाई कायम राख्दै संविधान कार्यान्वयनमा अघि बढ्नुपर्नेमा यहाँका दलका नेताहरूले जोड दिएका छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा निर्वाचित भइसकेपछि प्रतिक्रिया दिँदै उनीहरूले प्रमुख विपक्षी दलको भूमिकामा रहेर नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा बनेको संविधान कार्यान्वयनको पक्षमा लाग्नुपर्नेमा जोड दिए । तीन दलीय एकताबाट जुन उपलब्धि देशले पाएको छ यसलाई संस्थागत गर्न आउँदा दिनमा दलहरूका बीचमा एकता अपरिहार्य रहेको पनि उनीहरूले बताएका छन् ।

नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले आफ्नो नेतृत्वमा बनेको संविधान कार्यान्वयनमा सहयोगी भूमिकामा काँग्रेस लाग्नुपर्नेमा जोड दिनुभयो । दुई तिहाइ मतका लागि काँग्रेस निर्णायक शक्ति भएको भन्दै उहाँले प्रमुख विपक्षीको भूमिकामा रहेर सरकारलाई सहयोग गरी देशलाई आर्थिक समृद्धितर्फ लैजानु पर्ने बताउनुभयो ।

नेकपा (एमाले) चितवनका अध्यक्ष जगन्नाथ थपलियाले प्रजातान्त्रिक अभ्यासमा हारजित स्वाभाविक भएको भन्दै असल विपक्षीको भूमिकामा रहेर काँग्रेसले सरकारलाई सहयोग गर्नुपर्ने धारणा राख्नु भयो ।

चुनौतीहरू थपिएको भन्दै उहाँले त्यसको सामनाका लागि सरकारको नेतृत्वदायी भूमिकामा रहने प्रधानमन्त्रीले पनि विपक्षी काँग्रेसलाई समेटेर लैजानुपर्ने बताउनुभयो । संविधान जारीसँगै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने अवस्थामा तीन ठूला दल एक भएर अघि बढ्नुपर्ने अध्यक्ष थपलियाको भनाइ छ ।

एकीकृत नेकपा (माओवादी) विपक्षीमा रहँदासमेत सत्ताधारी दुई दलसँग जुन ढङ्गको सहकार्य र एकताका साथ नेपालले संविधान पायो त्यसलाई संस्थागत गर्नका लागि अहिले काँग्रेसको भूमिका महत्वपूर्ण हुनुपर्ने माओवादी नेताहरूको भनाइ छ ।

एकीकृत नेकपा (माओवादी) चितवनका अध्यक्ष यमबहादुर परियारले राष्ट्रवादी शक्तिहरूका बीचको एकताले नै देश समृद्धितर्फ जाने भन्दै उहाँले तीन दलीय शक्ति संविधान जारी गर्ने समयको जस्तै गरी सङ्गठित हुनुपर्ने बताउनुभयो । देशमा देखिएका सङ्कट मोचनका लागि सत्तामा रहेका र प्रमुख विपक्षीको भूमिका निर्वाह गर्ने काँग्रेसका बीचमा सहकार्य जरुरी रहेको उहाँको भनाइ छ ।

वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका प्रमुख डा केशवभक्त सापकोटा अहिलेको परिस्थिति सामान्य नभएको भन्दै अप्ठ्यारो अवस्थामा सत्तामा र बाहिर रहने सबै शक्तिबीचमा मेल हुन नसके समस्याले निकास नपाउने बताउनुहुन्छ ।

बुद्धिजीवी परिषद् चितवनका सल्लाहकार प्राध्यापक कपिल सुवेदीले संविधान कार्यान्वयनको चरण सुरु भएको भन्दै मधेसवादी दलहरूले समेत संविधानलाई स्वीकार गरी निर्वाचन प्रक्रियामा सहभागी हुनु सुखद रहेको बताउनुभयो । रासस