मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

साउदी अरबमा एक सय नेपाली अलपत्र

साउदी अरबमा एक सय नेपाली अलपत्र


साउदी अरब, २४ असोज । खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौँ रकम तिरेर यहाँ आएका करिब १०० नेपाली बिचल्लीमा परेका छन् । 
 
धन कमाउने मिठो सपना बोकेर रोजगारीका लागि साउदी आएका ती नेपालीले डेढ महिनादेखि काम पाउन नसकेपछि बिचल्लीमा परेका हुन् ।
 
उनीहरू काठमाडौँमा रहेको गोल्डेन इगल मेनपावर, सस मेनपावर र एडभेन्चर ह्युमन रिसोर्सेस गरी तीन छुट्टाछुट्टै मेनपावरमार्फत वैदेशिक रोजगारी सिलसिलामा साउदी आइपुगेका हुन् । दुई वर्षे करार सम्झौतामा अल जजीरा सर्पोट सर्भिस् कम्पनीमा कामदारका रुपमा आएका उनीहरूले अहिलेसम्म काम पाउन सकेका छैनन् । गत सेप्टेम्बरको १ र २ तारिखमा विभिन्न समूहमा गरी साउदी आएका उनीहरू हराजस्थित दुई वटा शिविरमा आश्रय लिएर बसिरहेका छन् ।
 
एक हजार २०० साउदी रियल तलब पाउने गरी सस मेनपावरमार्फत उक्त कम्पनीमा आएका दार्चुलाका वीरसिंह समालले आफू नराम्रोसँग ठगिएको दुखेसो गरे । 
 
मेनपावर कम्पनीले राम्रो कमाइ हुने प्रलोभन दिएर आफूसँग एक लाख हजार रुपैयाँ लिएको उहाँले बताउनुभयो । “ऋण काढेर विदेश आइयो, यहाँ धन कमाउने त कता हो कता खाने बस्नेसम्म टुङ्गो छैन,” समालले भन्नुभयो – “आएको दिनदेखि नै चिसो भुर्इंमा सुतेका छौँ ।” पीडित समालका अनुसार कम्पनीले खानाका लागि २०० साउदी रियलबाहेक अहिलेसम्म केही दिएको छैन । 
 
समालसँगै आएका उदयपुरका रुद्र राउतले गोल्डेन ईगल मेनपावरलाई एक लाख पाँच हजार बुझाएर उक्त कम्पनीमा आएको बताउनुभयो । आफूसँगै उक्त शिविरमा रहेका १०० नेपालीले अहिलेसम्म काम नपाएको जानकारी राउतले दिनुभयो । 
 
गोल्डेन ईगल मेनपावरमार्फत नै साउदी अरब आइपुग्नुभएका उदयपुरका प्रदीप राउतले डेढ महिना खाली हात बस्नुपर्दा घरपरिवार समेत तनावमा रहेको बताउनुभयो । उहाँका अनुसार मासिक एक हजार २०० रियल कमाइ हुन्छ भनेर मेनपावर कम्पनीले रु ७० हजार लिएको थियो । 
 
उहाँले भन्नुभयो – “काम लगाउने विषयमा कम्पनीले चासो नदिएपछि काठमाडौँमा रहेको मेनपावर कम्पनीलाई पटकपटक फोन ग¥यौं । फोन गर्दा केही दिनमै काम मिल्छ भन्ने आश्वासन पाउँछौँ तर आजसम्म काम पाएको छैन ।” आजभोलि मेनपावर कम्पनीलाई फोन गर्दा फोन नउठ्ने गरेको उहाँको दुखेसो छ । 
 
शिविरमा एउटा कोठामा ८–९ जना सम्म कोच्चिएर बस्न बाध्य छन् । पिउने पानीको व्यवस्था नभएर केही नेपाली कामदार बिरामी परेको बताइएको छ । राउतका अनुसार कम्पनीले काममा लगाउन नसक्दा केही नेपाली कामदार कामको खोजीमा कम्पनी छाडेर भागेका छन् ।
 
यस्तै, सस मेनपावरमार्फत रु ९० हजार बुझाएर सो कम्पनीमा कामदारका रुपमा आएका सिन्धुलीका सूर्य लामाले मेनपावर कम्पनीले आफूहरूलाई विदेशी भूमिमा अलपत्र पारेको बताउनुभयो । कमाइ हुन नसक्दा घरपरिवारलाई फोन गर्नसमेत नपाएको उहाँले गुनासो गर्नुभयो । 
 
एडभेन्चर ह्युमन रिसोर्सेसमार्फत साउदी आइपुगेका महोत्तरीका भरत यादवले डेढ महिनादेखि काम गर्न नपाउँदा आफूहरू निकै पीडित बनेको बताउनुभयो । मेनपावर कम्पनीले आफूसँग रु ९० हजार लिएर पठाएको भए पनि अहिलेसम्म काममा लगाउन नसकेको यादवले सुनाउनुभयो ।
 
तेह्रथुमका हजिन्द्रबहादुर कार्कीको पीडा पनि उस्तै छ । काम नपाएर आफूहरू बिचल्ली पर्दा पनि हारगुहारका लागि कसैसँग सम्पर्क गर्न नसकेको उहाँले बताउनुभयो । रासस