मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री केपी ओलीको जीवन यात्रा

प्रधानमन्त्री केपी ओलीको जीवन यात्रा


काठमाडौँ । २०६२-६३ को जनआन्दोलनताका एमालेका प्रभावशाली नेता केपी ओलीको एउटा भनाई निकै चर्चित बन्यो, ‘बयलगाडा चढेर अमेरिका पुग्नु र यो आन्दोलनले गणतन्त्र ल्याउनु एकै हो ।’



ओलीले खासै भर नगरेको आन्दोलनले आशातीत सफलता हासिल गर्यो । ओली उपप्रधानमन्त्री बने । शान्तिप्रकृया सुरु भएयता दश वर्ष ओली माओवादी (हालको एमाओवादीसहित)का कट्टर आलोचक थिए । तिख्खर ढंगले माओवादीको आलोचना गर्ने शैलीले उनको आम लोकप्रियता बढायो । 

‘राजनीति सरल रेखामा हिँड्दैन’ भन्ने मन्यता मुलुकको राजनीतिमा एकपटक फेरि सिद्ध भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दिलोज्यानले सहयोग गरेपछि ओली मुलुकको ३८औं प्रधानमन्त्री चुनिएका हुन् ।



उनी आठ वर्षदेखि मृगौंला रोगसँग लड्दै आएका छन् । यही शारीरिक प्रतिकुलताका बेला ओलीले झण्डैं पाँच दशक लामो राजनीतिक जीवनलाई शिखरमा पुर्याएका छन् ।



आफ्नो नेतृत्वमा संविधान ल्याएका बहालवाला प्रधानमन्त्री सुशील कोइरालालाई पराजित गरेर सिंहदरवारको बागडोर हासिल गरेका ओलीको राजनीतिक व्यक्तित्व दुई वर्षदेखि झनै चुचुरोतिर लागिरहेको छ ।



आफ्नो दल एमालेबाट प्रधानमन्त्रीको निर्विकल्प उम्मेदवार बन्ने पृष्ठभूमि सुनिश्चितता उनी २०७१ असार ३१ गते एमाले अध्यक्ष भएपछि खुलेको हो । सोह्र वर्ष एमालेको एकछत्र नेतृत्व गरेका र प्रधानमन्त्रीसमेत भइसकेका माधवकुमार नेपाललाई पराजित गरेर ओली पार्टी अध्यक्ष बनेका हुन् ।



नेपाल पक्षले पार्टी संगठनमा बाहुवलीहरुलाई संरक्षण, विदेशी शक्तिसँग बढी हिमचिम, शारीरिक दुर्बलतालगायत आरोप लगाए । त्यसले पुरापुर काम गरेन । ओली निर्वाचित भए। 



अध्यक्ष हुने बाटो ओलीले २०७० माघमा एमाले संसदीय दलको नेतामा विजयी भएर खनिसकेका थिए। संसदीय दलको नेता हुनु फलामको च्यूरा थियो । किनभने पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालसँगको प्रतिष्पर्धा सजिलो थिएन । एमालेलाई २०६४ सालको चुनावको हारलाई उल्ट्याएर झण्डैं झण्डैं पहिलो पार्टी कांग्रेसबराबरै सिट ल्याएको जस खनाललाई थियो ।



मुलुकको इतिहासमा ओली सम्भवतस् सबैभन्दा विपन्न पृष्ठभूमिबाट आएर मुलुकको सर्वोच्च कार्यकारी पदमा पुगेका व्यक्ति हुन् ।



आमा गुमाएर टुहुरो भएका उनले बाल्यकालदेखि नै विषम परिस्थितिको सामना गर्न सिकेका थिए । झापामा भएको अलिकति खेती पनि बाढीले बगाएपछि ओली परिवारसँग छुट्टिएर किशोर अवस्थामा कम्युनिष्ट नेता रामनाथ दाहालको आश्रयमा बसेका थिए ।



ओलीको संक्षिप्त जीवनयात्रा 



जन्मस् २००८ फागुन ११

जन्म स्थान: तेह्रथुम, आठराई, इवागाउँ

बसाइँसराइ: झापा

औपचारिक शिक्षा: १० कक्षा

पत्नी: राधिका शाक्य

कम्युनिष्ट पार्टीसँग सम्पर्क: २०२३ साल



जेल जीवन: लगातार १४ वर्ष

पंचायती प्रशासनले जेलजीवनका क्रममा केपी ओलीलाई नौं पटक ठाउँसारी गरेको थियो । जुन निम्नानुसार छ : 

२०३० मंसीरदेखि २०३२ वैशाख : सेन्ट्रल जेल गोलघर

२०३२ वैशाख : नख्खु

०३३ मंसीरदेखि २०३६ जेठ : केन्द्रीय कारागार गोलघर

२०३६ जेठदेखि २०३७ चैत : केन्द्रीय कारागार

२०३७ चैतदेखि २०३९ माघ : नख्खु जेल

२०३९ माघदेखि २०४२ कात्तिक : पोखरा

२०४२ कात्तिकदेखि २०४३ मंसीर : स्याङ्जा जेल

२०४३ मंसीरदेखि २०४३ माघ : हनुमानढोका

२०४३ माघदेखि २०४४ असार : भद्रगोल जेल



पार्टीका महत्वपूर्ण जिम्मेवारी

२०२९ : नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटी प्रमुख

२०४४ : केन्द्रीय कमिटी सदस्य

२०४६ : लुम्बिनी अञ्चल प्रमुख

२०४७ : प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष

२०५० : प्रमुख, दासढुंगा दुर्घटना छानबिन समिति

२०४९ देखि २०७१ : स्थायी कमिटी सदस्य





सार्वजनिक ओहोदा

२०४८ : प्रतिनिधि सभा सदस्य

२०५१ : प्रतिनिधि सभा सदस्य

२०५६ : प्रतिनिधि सभा सदस्य

२०७० : संविधान सभा सदस्य



राजकीय जिम्मेवारी

२०५१ : एमाले अल्पमत सरकारमा गृहमन्त्री

२०६३ : उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री

२०७० : एमाले संसदीय दलको नेता

२०७२ असोज २४ : गणतन्त्र नेपालको प्रधानमन्त्री

-सेतोपाटीबाट