मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारबारे दुबै मधेसी मोर्चाले सोमबार निर्णय गर्ने

सरकारबारे दुबै मधेसी मोर्चाले सोमबार निर्णय गर्ने


काठमाडौं । आन्दोलनरत दुई मधेसी मोर्चाले सरकार गठनमा आफ्नो भूमिकाबारे सोमबारमात्रै निर्णय गर्ने बताएका छन् ।
 
मधेसी मोर्चाका सांसदहरु पनि मतदान प्रक्रियामा सहभागी बन्ने संकेत देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसले मधेस केन्द्रीत दलहरुबाट मतको अपेक्षा गरेको छ ।
 
अहिलेसम्म ओलीलाई एमाओवादी, राप्रपा नेपालसहितका दलहरु समर्थन छ र बहुमत पुग्ने देखिएको छ । कांग्रेसको पक्षमा भने कुनै पार्टी पनि देखिएको छैन । तर, दुबै मधेसी मोर्चामा आवद्ध दलहरुले भने सरकारका विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् ।
 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबारे कुनै निर्णय भइनसकेको बताएका छन् । उनले भने-‘दलहरु आफैं निर्णय गर्न स्वतन्त्र छन् । हामीले कुनै निर्णय गरेका छैनौं । भोलि संसदीय दलको बैठक राखिएको छ ।’
 
मधेसी मोर्चामा आवद्ध सदभावनाका पाँच सभासदले राजीनामा दिएका छन् तर, स्वीकृत भएको छैन । मधेसी मोर्चामा संविधानसभामा रहेको तमलोपा र समसपा पनि आवद्ध छ ।
 
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले पनि सरकारबारे निर्णय गरेको छैन ।
 
मोर्चामा आवद्ध फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने- ‘अहिलेसम्म कसैले पनि भोट मागेका पनि छैनन् । हामीले निर्णय गरेका पनि छैनौं । भोलि मोर्चाको बैठक बसेर संस्थागत निर्णय गर्छौं ।’