मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रिय समस्या समाधान गर्न दलीय एकता आवश्यक : सभामुख नेम्वाङ

राष्ट्रिय समस्या समाधान गर्न दलीय एकता आवश्यक : सभामुख नेम्वाङ


काठमाडौँ । विभिन्न राजनीतिक दलमा आबद्ध युवा नेताले भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले जनजीवन प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सभामुख सुवास नेम्बाङ समक्ष ज्ञापनपत्र बुझाएको छ । 
 
नेकपा(एमाले)का युवा नेता ठाकुर गैरेको नेतृत्वको टोलीले आज सभामुख नेम्बाङलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै सभामुख नेम्बाङले समस्याको समाधान गर्न सबै राजनीतिक दल, सरोकारवाला निकायले विशेष पहल गर्नुपर्ने बताउनुभयो । 
 
मुलुकलाई परेको समस्याको समाधान गर्न प्रमुख राजनीतिक दलको एकता आवश्यक रहेको भन्दै उहाँले सामूहिक एकता र प्रयत्नबाट नै सम्भव हुने उल्लेख गर्नुभयो । 
 
प्रमुख दलका बीचमा कायम रहेको एकता भाँडिन्छ कि भन्ने आशङ्का पछिल्लो दिनमा पैदा भएको भन्दै सभामुख नेम्बाङले संविधानको सफल कार्यान्वयन गर्न र मुलुकमाथि आइपरेको विभिन्न समस्या समाधान गर्न सबै पक्षको एकता आवश्यक रहेको स्पष्ट पार्नुभयो । 
 
सरकारले अपनाउनुपर्ने सबै प्रकारको उपाय अवलम्बन गर्नुपर्ने र दलीय एकता आवश्यक रहेकामा नेम्बाङको जोड थियो । संविधान घोषणापछिको अवस्थामा मुलुक सहजरुपमा अगाडि बढ्ने अपेक्षा विपरीत आएका सङ्कट समाधानका लागि सबै प्रकारका उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो । 
 
नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी), नेकपा(संयुक्त)लगायत दलमा आबद्ध युवा नेताले यसअघि प्रधानमन्त्री सुशील कोइरालालाई यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् । 
 
राष्ट्रिय स्वाधीनता अभियान नाम दिएर युवा नेताले नजिकिँदो चाडबाडलाई ध्यान दिएर व्यवस्थापिका–संसद्को चालु अधिवेशनमा नै विशेष सङ्कल्प प्रस्ताव पारित गर्न माग गर्नुभएको छ ।