मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कालोबजारी गर्ने पेट्रोलपम्प सञ्चालक पक्राउ

कालोबजारी गर्ने पेट्रोलपम्प सञ्चालक पक्राउ


प्यूठान । पेट्रोलियम पदार्थ अभावको अवसर पारी पेट्रोलमा कालोबजारी गर्ने एक जना पेट्रोलपम्प सञ्चालन पक्राउ परेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सन्तोषी आयल स्टोर बाङगेशाल–६ दर्भानका सञ्चालक शान्ता थपलियालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लामा तेलको अभाव भएपछि जिल्ला आपूर्ति व्यवस्थापन समितिले उक्त पम्पलाई दिइएको तीन हजार लिटर पेट्रोल र सोही परिमाणको डिजलमा कालोबजारी गरेको पाइएपछि थपलियालाई पक्राउ गरिएको जिल्ला बजार अनुगमन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो ।

कालोबजारी गरेको गुनासो आएपछि समितिले गोप्य अनुगमन गर्दा कालोबजारी भएको पाएपछि पक्राउ गरिएको समितिले जनाएको छ । पम्प सञ्चालक थपलियालाई पक्राउ गरी थप अनुसन्धान जारी राखिएको निमित्त प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रसिंह चौधरीले जानकारी दिनुभयो ।

समितिको पहलमा उपलब्ध गराएको तेलमा आधा परिमाणको तेल बिक्री गरी तेल सकियो भन्दै बाँकी रहेको एक हजार ५०० लिटर तेलमा कालोबजारी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका सञ्चालक थपलियालाई कालोबजारी ऐनअनुसार मुद्दा दर्ता गरिने प्रजिअ कुरुम्वाङले बताउनुभयो ।

कालोबजारी गरी लुकाएको अवस्थामा फेला परेको एक हजार ५०० लिटर पेट्रोललाई आजै प्रहरीको रोहवरमा बिक्री गरिएको छ । रासस