मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

तीन दलीय टोली र मोर्चाबीच औपचारिक वार्ता

तीन दलीय टोली र मोर्चाबीच औपचारिक वार्ता


काठमाडौँ । प्रमुख तीन दलीय वार्ता टोली र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाको वार्ता टोलीबीच आज पहिलो पटक औपचारिक रुपमा वार्ता भएको छ । 
 
मोर्चाले प्रमुख दलसँग वार्ता गर्न टोली गठन गरेपछि आज पहिलोपटक सिंहदरबारमा भएको छलफलमा वार्ताको वातावरण बनाउन सरकारले गरेका निर्णय प्रभावकारी रुपमा गर्ने विषयमा छलफल केन्द्रित भएको वार्तामा सहभागी नेताहरुले बताएका छन् । 
 
बैठकमा दुवै पक्षबीच कुराकानी प्रारम्भ भएको बताउँदै तीन दलीय वार्ता टोलीका सदस्य एवम् वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले बैठकमा दुवै पक्षले आ–आफ्ना कुरा खुलेर राखेको जानकारी दिनुभयो ।
 
वार्ताको वातावरण बनाउन राज्यका तर्फबाट यसअघि गरिएका निर्णयका बारेमा मोर्चा टोलीले सबैले अनुभव गर्नेगरी कार्यान्वयन नभएको गुनासो राखेको उहाँले बताउनुभयो । 
 
उक्त कार्यले राजनीतिक विषयमा सहमतिमा पुग्नका लागि मद्दत पु¥याउने भन्दै भोलि पुनः वार्तामा बस्ने समझदारी भएको मन्त्री आचार्यले बताउनुभयो । सिमानामा देखिएको नाकाबन्दी समस्या समाधान गर्न आफूहरुले मोर्चा टोलीलाई आग्रह गरेको उहाँले जानकारी दिनुभयो । 
 
सरकारले वार्ताको वातावरण बनाउन यस अघि गरेका निर्णय प्रभावकारी रुपमा कार्यान्वयन भए नभएको बारेमा मूल्याङ्कन गर्ने बताएको छ । कतिपय राजनीतिक माग संविधानमा संशोधन गरेर सम्बोधन हुने बारेमा समेत छलफल भएको थियो । 
 
बैठकमा वार्ताको वातावरण बनाउनका लागि यस अघि गरिएका निर्णय प्रभावकारी कार्यान्वयन गर्न र मधेशको वातावरण सहज बनाउन बाँकी रहेकालाई निर्णय गर्न यथाशिघ्र गर्न कार्यान्वयन गर्न माग गरेको मोर्चाको वार्ता टोली सदस्य एवम् सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । 
 
वार्ताको वातावरण बनाउन मोर्चाले यस अघि सारेका सर्त पुरा भएपछि मात्र राजनीतिक विषयमा छलफल सुरु हुने भनाई राखेको सहअध्यक्ष कर्णले बताउनुभयो । राजनीतिक विषयमा छलफल गर्न मोर्चाले सत्तापक्षलाई ठोस प्रस्तावको तयारीका साथ वार्तामा आउन आग्रह गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा राजनीतिक विषय प्रवेश नै नभएको भन्दै उहाँले राजनीतिक विषय समाधान नभई नाकाबन्दी नखोल्ने बताउनुभयो । रासस