नेपाल

डा भट्टराईले नयाँ पार्टी खोल्ने

डा भट्टराईले नयाँ पार्टी खोल्ने


लुम्बिनी (रुपन्देही) । एनेकपा (माओवादी) पार्टी परित्याग गरेर तराई मधेसका जिल्लाको दौडाहामा रहनुभएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएको छ ।

उहाँले लोकतान्त्रिक उपलब्धिलाई जोगाउन पुराना पार्टी र मुलुकको विकास गर्नलाई पुरानो एजेन्डाले नसक्ने भएको हँुदा नयाँ एजेन्डासहितको नयाँ शक्ति मुलुकमा अवश्यकता रहेको बताउनुभयो ।

Advertisement

रुपन्देहीको धकधई क्षेत्रमा मधेस आन्दोलनको समर्थन तथा वर्तमान शासनविरुद्ध विशाल विरोधसभालाई सम्बोधन गर्दै उहाँले प्राप्त लोकतान्त्रिक उपलब्धिलाई जोगाउन र नपुगेका अधिकारलाई पूर्णता दिलाएर केही दशक आर्थिक विकासबाट समृद्धि ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “तराई मधेस प्रचुर सम्भावना हुँदाहँुदै पनि यहाँका जनता गरिब छन्, युवा बेरोजगार भएर विदेसिएका छन्, यसको अन्त्य गर्नका निम्ति हामीले केही दशक सम्पूर्ण शक्ति केन्द्रित गरेर मुलुकमै उद्योग कलकारखाना खोलेर नेपाललाई हराभरा र समृद्ध बनाउनुपर्छ ।” उहाँले यही एजेन्डा पूरा गर्नका लागि नयाँ शक्तिको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले हिजोको पुरानो शक्तिले अबको आर्थिक क्रान्ति सम्भव नभएको भन्दै नयाँ शक्तिको निर्माण गर्ने धेयका साथ आफूले पुरानो पार्टी परित्याग गरेको बताउनुभयो । नेता भट्टराईले सबैको सल्लाह लिएर मात्रै नयाँ शक्ति कस्तो र कसरी निर्माण गर्ने भन्ने टुङ्गो लाग्ने बताउनुभयो ।

उहाँले आफूले छाडेको पार्टीलाई पुरानो भत्केको घर भन्दै त्यसमा कुनै पनि हालतमा नफर्कने बताउनुभयो । “पार्टीहरू आवश्यकताअनुसार बन्छन्, आवश्यकताअनुसार भत्किन्छन्”, उहाँले भन्नुभयो, “अब हामी नयाँ युगमा प्रवेश गर्दैछौँ ।”

उहाँले एनेकपा (माओवादी) को एजेन्डा पनि पुरानो बन्यो, त्यो अब एउटा भत्केको घरसरह भइसक्यो, भूकम्पले भत्काएको घरमा जसरी रेड स्टिकर लाग्छ, त्यसरी नै एमाओवादी पार्टीमा पनि रेड स्टिकर लागेको छ र त्यो रेड स्टिकर लागेको घरमा बस्न जोखिमपूर्ण भएको कारण पार्टीबाट बाहिरिएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले मधेस आन्दोलनमा आफ्नो समर्थन रहेको बताउँदै आन्दोलन अझै पूरा भइनसकेको बताउनुभयो । रासस

शेयर गर्नुहोस:

0
Shares