मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

तीन दलीय टोली र मोर्चाबीचको वार्ता सकारात्मक

तीन दलीय टोली र मोर्चाबीचको वार्ता सकारात्मक


काठमाडौँ । प्रमुख तीन दलीय वार्ता टोली र आन्दोलनरत सङ्घीय लोकतान्त्रिक मोर्चाबीच भएको वार्ता सकारात्मक रहेको वार्तामा सहभागीहरुले बताएका छन् । 
दुवै पक्षबीच आइतबार मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)को केन्द्रीय कार्यालयमा भएको वार्ता सकारात्मक भएको तीन दलीय वार्ता टोलीका सदस्य एवम् वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले जानकारी दिनुभयो । 
 
मन्त्री आचार्यले छलफल राम्रो भएको र राजनीतिक कार्यसूचीलाई सबैका लागि कसरी स्वीकार्य हुन सक्दछ भन्नेमा दुवै पक्ष पुगेको बताउनुभयो । उहाँले वार्ताको वातावरण बनाउन सरकारले गरेका विभिन्न निर्णय तल्लो स्तरसम्म कार्यान्वयन गर्न देखिएका प्रशासनिक ढिलाइलाई सरकारले तत्काल सम्बोधन गर्ने विषयमा मोर्चालाई आश्वस्त पारेको जानकारी दिनुभयो ।
 
यसबाहेक दुवै पक्ष मुलुकको वर्तमान समस्या चाँडै सम्बोधन गर्नुपर्दछ भन्नेमा सहमत भएको र आन्दोलनका कतिपय माग संविधान संशोधनबाट सम्बोधन हुनेमा सहमत देखिएका छन् । 
 
छलफल सकारात्मक रुपमा अघि बढेको र मोर्चाले अघि सरेको कतिपय माग संविधान संशोधन तथा राजनीतिक तहमा छलफल गरेर टुङ्गो लगाउनुपर्नेमा सहमति भएको तीन दलीय वार्ता टोलीका अर्का सदस्य एवम् नेकपा (एमाले)का प्रमुख सचेतक अग्नि खरेलले जानकारी दिनुभयो ।  
 
मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० का उपाध्यक्ष जितेन्द्र देवले छलफल सौहाद्र वातावरणमा विषयवस्तुमाथि केन्द्रित रहेर भएको बताउनुभयो । मुलुकको समसामयिक विषयमा सकारात्मक कुराकानी भएको र चाँडोभन्दा चाँडो निष्कर्षमा पुग्नुपर्नेमा दुवै पक्षबीच सहमति भएको उहाँले बताउभयो । 
 
मोर्चाले वार्ता वातावरण बनाउन आन्दोलनमा मृत्यु भएका परिवारलाई राहत, मुद्दा लागेको निर्दोषलाई रिहा, घाइते भएकाको उपचारको व्यवस्था तत्काल हुनुपर्ने माग गरेको थियो । मोर्चाका सो मागलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै तत्काल सम्बोधन हुने आश्वासन दिएको छ ।
 
यसबाहेक छलफलमा सङ्घीयताको सीमानामा नमिलेका विषयमा समेत मोर्चाले सरकारलाई ठोस प्रस्ताव ल्याउन सुझाएको उपाध्यक्ष जितेन्द्र देवले जानकारी दिनुभयो । छलफलमा मोर्चाले समानुपातिक समावेशी प्रतिनिधित्व, निर्वाचन निर्धारण पुनरावकलोकन, नागरिकतालगायत विषयमा पनि सत्तापक्षलाई भोलिसम्ममा मस्यौदा ल्याउन र त्यसमा छलफल गरेर टुङ्ग्याउने सहमति भएको उहाँले बताउनुभयो ।
 
छलफलमा मन्त्री आचार्य, प्रमुख सचेतक खरेल, उपाध्यक्ष देव, फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव सहभागी हुनुहुन्थ्यो ।  रासस