मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

इन्धनसँगै चितवनमा रगतको अभाव

इन्धनसँगै चितवनमा रगतको अभाव


चितवन । नाकाबन्दीपछि इन्धनको अभावसँगै तालिकामा रहेका रक्तदान कार्यक्रमहरू हुन छाडेपछि जिल्लामा रगतको अभाव भएको छ ।

रक्तसञ्चार केन्द्र भरतपुरबाट सदरमुकामका अस्पतालहरूमा दैनिक १५० युनिटको हाराहारीमा रगतको माग हुने गर्छ । सबैभन्दा बढी कलेज अफ मेडिकल साइन्सेस र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रगतको माग हुने गरेको केन्द्रका प्रमुख रमेशकान्त पौडेलले बताउनुभयो ।

ती अस्पतालका अतिरिक्त जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, नारायणी सामुदायिक अस्पतालसहित नर्सिङ होमहरूमा पनि रगतको माग हुने गरेको उहाँले बताउनुभयो । जिल्ला र बाहिरबाट आउने दुर्घटनाका घाइते र बिरामीको ठूला शल्यक्रिया जिल्लाका अस्पतालमा हुने भएकाले रगतको माग बर्सेनि बढ्दै गएको छ ।

इन्धनको अभावमा मानिसको आवतजावतमा कठिनाइ भएपछि रक्तदान कार्यक्रम आयोजना गर्नेहरूले नियमित कार्यक्रम नगर्दा रगतको अभाव भएको उहाँले बताउनुभयो ।

बिरामीका आफन्तबाट रगत साटेर अत्यावश्यक बिरामीलाई मात्र रगत दिइएको छ । आफन्तहरू समेत आउन नसकेपछि कतिपयले शल्यक्रियाको समय पछाडि सारेको केन्द्रका प्रमुख पौडेलले बताउनुभयो । पछिल्लो समय स्थानीय प्रशासनले पालो मिलाएर इन्धन दिन थालेपछि नियमित रक्तदान कार्यक्रम सुरु हुने क्रम भएकाले केही दिनमा पूर्ववत् अवस्थामा रगतको माग पूरा गर्न सकिने उहाँले बताउनुभयो ।

केन्द्रमा वार्षिक रूपमा ३५ हजार युनिट रगत माग हुँदै आएको छ ।