मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउँछौँ : प्रचण्ड

दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउँछौँ : प्रचण्ड


काठमाडौँ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा विभिन्न खालको टुटफुट भए पनि आगामी दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

एमाओवादी केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको पार्टी कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र देखिएका समस्या र टुटफुटबाट बाहिर निस्केर नेपाली जनताको चाहना र भावना बमोजिम अगाडि बढ्ने र एक नम्बरको पार्टी बनाउने बताउनुभयो ।

विभिन्न टुक्रामा विभक्त माओवादी आन्दोलनलाई एकताबद्ध बनाउन आफूहरूले हदैसम्मको प्रयत्न गर्ने बताउँदै केही दिन पहिले मात्रै पार्टी परित्याग गर्नुभएका डा बाबुराम भट्टराईलाई समेत जिम्मेवारीमा फर्कन आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो – “पार्टी परित्याग गर्नेबित्तिकै सत्तोसराप गर्नुपर्छ भन्ने छैन, उहाँलाई कोही कसैले पनि गाली नगरौँ । उहाँले उठाएका विषयलाई पार्टीले आत्मसात् गर्छ र पार्टीलाई रुपान्तरित गरेर अगाडि बढाइन्छ ।” पार्टी केन्द्रीय समितिले डा भट्टराईलाई पुनः पार्टीमा फर्कन आग्रह गरिसकेको सन्दर्भमा उत्तेजनामा आएर गालीगलौज नगर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

उहाँले नयाँ संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै सत्ताको खेलमा लागेर बहुमतीय सरकार बनाउन नहुने धारणा राख्नुभयो ।

प्रमुख तीन दलको बीचमा संविधान कार्यान्वयन गर्ने चरणसम्म मिलेर जाने सहमति भएकाले त्यसलाई पालना गर्न सबैलाई आग्रह गर्नुभयो ।

विगतमा १६ बुँदे सहमति हुँदा तीन दलको बीचमा सहमतिका आधारमा अगाडि बढ्नेमा सबै एकमत भएकाले त्यसलाई अगाडि बढाउन सबैको साथ र सहयोग जरुरी रहेको अध्यक्ष दाहालको कथन थियो ।

एमाओवादीले मुलुकलाई सङ्कट परेको बेला महत्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै उहाँले संविधान निर्माण गर्न पनि त्यो खालको निर्णय गरेको बताउनुभयो ।

संविधानसभाबाट संविधान निर्माण गर्ने जनताको चाहना पूरा भएकाले संविधानका सकारात्मक विषयलाई जनतामाझ लैजान पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो ।

नेपाल र भारतबीच विगत लामो समयदेखि सुमधुर सम्बन्ध रहेको भए पनि पछिल्लो समयमा आएर गलत निर्णय गरेको भन्दै अध्यक्ष दाहालले भन्नुभयो – “नेपालका लागि निर्णय गर्न नेपाली जनता र राजनीतिक दल स्वतन्त्र छन् । त्यसलाई कोही कसैले पनि आपत्ति गर्नु आवश्यक छैन ।”

राष्ट्रियताको पक्षमा प्रतिबद्ध भएर उभिन कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष दाहालले नेपालको हित र चाहना विपरीत गएर कोही कसैले पनि गलत गतिविधि सञ्चालन गर्न नसक्ने धारणा राख्नुभयो ।

एमाओवादीका सचिव एवम् संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने समयमा डा भट्टराईले पार्टी परित्याग गरेर गलत गरेको बताउनुभयो ।

उहाँले विभिन्न टुक्रामा विभक्त भएको माओवादी आन्दोलनलाई एकताबद्ध बनाएर अगाडि लैजान पहल र प्रयत्न गर्नुपर्नेमा पार्टी छोड्ने कुरा कुनै पनि हालतमा जायज मान्न नसकिने धारणा राख्नुभयो ।

रायमाझीले भन्नुभयो – “डा भट्टराईले गलत काम गर्नुभयो, उहाँको पछि लाग्न सकिँदैन, पार्टीमा नै रहेर सङ्घर्ष गरिन्छ, परित्याग गरिँदैन । एकताबद्ध भएर जनताको बीचमा जान म सबैलाई आग्रह गर्दछु ।”

प्रशिक्षणमा काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुलीका अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । रासस