मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पेट्रोलको अभाव भएपछि ई-रिक्सामा सरर

पेट्रोलको अभाव भएपछि ई-रिक्सामा सरर


चितवन । तराईकेन्द्रित दलले गरेको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि चितवनमा ई–रिक्साको प्रयोग बढेको छ ।

पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि ई–रिक्साको प्रयोग बढी भइरहेको ई–रिक्सा चालकहरु बताउँछन् । नारायणगढको बजारमा ई–रिक्सा चलाउने मिलन लामाले पछिल्लो समय निकै बढेको बताए ।

ई–रिक्साको बनावट खुला प्रकारको भएकाले यात्रुहरु चढ्न रुचाउने उनको भनाइ छ । ई–रिक्सा चलाउँदा चालकहरु नथाक्ने हुँदा चालकहरुले पनि मन पराएका छन् । यो ई–रिक्सा चढ्नको लागि निकै नै आरामदायी रहेको ई–रिक्सा चालक युवराज लामाले बताए ।

यात्रुहरु पनि ई–रिक्सा चढ्न मन पराउने गरेको उनले बताए । ई–रिक्सा चलाएर दिनमा सरदर २ हजार रुपैयाँसम्म कमाउने गरेको उनले बताए । अहिले आम्दानी पनि बढ्दै गइरहेको छ, उनले भने ।

भरतपुर ओमशान्तिचोकबाट ई–रिक्सामा नारायणगढ जाँदै गरेकी बन्दना आचार्यले पेट्रोलको अभावमा स्कुटरलाई घरमै राखेर ई–रिक्सा चढेको बताइन् । ‘सरर हावा चल्ने भएकोले नयाँ रिक्सा अन्य सवारीभन्दा आनन्ददायक छ’, उनले भनिन्, ‘देशभर यस्तै विद्युतीय सवारीसाधनहरुको प्रयोग बढ्ने हो भने जलस्रोतको धनी देशले इन्धनको लागि भारतको अगाडि झुक्नु पर्दैनथ्यो ।’ जलस्रोतको धनी देशले विद्युत्को उत्पादन गरी भरपूर उपयोग गर्ने हो भने कुनै विदेशबाट आवश्यक इन्धनको आवश्यक नपर्ने उनले बताइन् ।

ई–रिक्सा चढेर यात्रा गरिरहेका भरतपुरका टंक भुषालले प्रदूषणरहित तथा ध्वनिरहित ई–रिक्सा चढ्न निकै राम्रो लागेको बताए । बैंकमा कार्यरत भुषाल पेट्रोलियम पदार्थको अभाव भएसँगै ई–रिक्सामा नै चढेर कार्यालय जाने गरेको बताए । भोजाडका दीपक पराजुलीले गर्मीमा शीतल हुने हुँदा आफू ई–रिक्सा चढ्न रुचाउने बताए ।

ई–रिक्सालाई घरसम्म नै लान सकिने हुँदा यो अन्य सवारीसाधनभन्दा अलि फरक रहेको उनले बताए । तर ई–रिक्सामा भाडा दर यकिन नहुँदा कुनै बेला अप्ठ्यारो पर्ने गरेको उनले बताए ।

पेट्रोलियम पदार्थको अभाव भैरहने नेपालका लागि विद्युतीय सवारीसाधनहरु विकल्पको रुपमा प्रयोग हुनसक्ने देखिएको चितवनमा ई–रिक्साको बिक्री वितरण गरिरहेको भिजन टे«ड लिंकका सञ्चालक नगेन्द्र पौडेलले बताए ।

चितवनमा हाल ५० देखि ६० सम्म ई–रिक्सा सञ्चालनमा रहेको उनले बताए । एक पटक चार्ज गरेपछि केही घण्टासम्म सजिलै चल्न सक्छ । ई–रिक्सालाई एकपटक पूरा चार्ज गरिसकेपछि ८० किलोमिटरदेखि १२० किलोमिटरसम्म चलाउन मिल्ने बताइएको छ । चार्जेवल ब्याट्रीबाट चल्ने र कम मूल्यमा पाइने ई–रिक्साको जो कोहीले पनि किन्न सक्छन् ।