मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्वरोजगारका लागि छ करोड बढी वितरण

स्वरोजगारका लागि छ करोड बढी वितरण


चितवन । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहयोगमा हुने कार्यक्रमप्रति अन्य ठाउँमा प्रभावकारी नभए पनि चितवनमा सफल भएको सञ्चालकहरुको दाबी रहेको छ ।

कोषमार्फत् १२ सय युवाले छ करोड ३० लाख रुपैयाँ लगेर व्यवसाय गरेका छन् । जसमध्ये फिर्ता नदिने जम्मा दुईजनामात्रै रहेको कोषको जिल्ला संयोजन तथा अनुगमन समितिले जानकारी दिएको छ ।

समितिले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा फिर्ता नगर्ने एक जनालाई कारबाही गर्ने तयारी भएको छ । अर्को एक जनाको खोजी भइरहेको छ । कोषले चितवनका १५ सहकारीमार्फत् रकम परिचालन गरेको थियो ।

नारायणगढको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाबाट रकम लगेका बुदनप्रसाद महतोलाई कोषले कारबाही गर्दैछ । गाई पाल्न भनेर रकम लगेका महतो सो काम नगरेर बाग्लुङ गएको कोषका सदस्य सचिव रामचन्द्र लम्सालले जानकारी दिए । त्यस्तै कम्प्युटर पसल राख्न भनेर भरतपुरको चित्रवन बचत तथा ऋण सहकारी संस्थाबाट रकम लगेकी चञ्चला प्रजापति पनि सम्पर्कमा नआएको लम्सालले बताए । उनलाई खोजेर कारबाही गर्ने उनको भनाइ छ ।

‘स्वरोजगार कोषको रकम लगेर फिर्ता नगर्नेलाई सरकारी राजश्व मासेसरह कारबाही हुन्छ’ चितवनका प्रमुख जिल्ला अधिकारी तथा युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिका संयोजक विनोदप्रकाश सिंहले भने ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहने समितिमा उद्योग वाणिज्य संघका अध्यक्ष सहसंयोजक रहन्छन् । त्यस्तै जिल्ला संयोजन तथा अनुगमन समितिमा जिल्ला कृषि विकास कार्यालय, सहकारी डिभिजन कार्यालय र पशु सेवा कार्यालयका प्रमुखहरु सदस्य रहन्छन् । सदस्य सचिव लम्सालका अनुसार अनुदान लैजानेमध्ये ८० प्रतिशतले कृषि र पशुपालनमा लगानी गरेका छन् ।

‘कार्यक्रमले पशुपालनमा प्रगति भएको छ’ जिल्ला पशुसेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले भने । कोषले यो वर्ष थप रकम लगानी गर्ने भएको छ । बेरोजगार युवाहरुलाई सहकारीको सदस्य बनाएर सामूहिक वा व्यक्तिगत कर्जा दिएर स्वरोजगार बनाउन इच्छुक बैंक वित्तीय संस्था तथा सहकारी संस्थाहरुसँग प्रस्ताव माग गरेको छ ।

असोज मसान्तभित्र प्रस्ताव पेश गर्ने संस्थाहरुलाई लगानी गर्ने सदस्य सचिव लम्सालले बताए । पहिला कोषले लगानी गरेका १५ मध्ये आठ सहकारी यस पटक पनि छनौट भएका छन् । कोषमार्फत् व्यक्तिले अधिकतम दुई लाख रुपैयाँ अनुदान पाउँदै आएको थियो । यो पटकदेखि पाँच लाख रुपैयाँसम्म पुग्ने सम्भावना रहेको छ ।