मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भैरहवा भन्सारबाट एक सय बढी गाडी नेपाल भित्रिए

भैरहवा भन्सारबाट एक सय बढी गाडी नेपाल भित्रिए


लुम्बिनी (रुपन्देही) । भैरहवाको बेलहिया नाका आजदेखि सञ्चालनमा आएको छ ।
 
नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी र भन्सार कर्मचारीको बैठकले भारतमा रोकिएका मालबाहक सवारीसाधन नेपालमा भित्र्याउने निर्णय गरेसँगै अहिले भैरहवा भन्सार नाकाबाट निर्वाध मालबाहक सवारीसाधन भित्रिरहेको छ ।
 
भैरहवाको बेलहिया नाकाबाट १०० बढी मालबाहक ट्रक तथा बस नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार साँझ ५ बजेसम्म ५२ ट्रक, छ वटा पेट्रोलका गाडी, एक वटा एलपिजी ग्यास, पाँच कर्बान अक्सिजनका गाडी, २१ बस, ४० बढी भ्यानलगायतका सवारीसाधन नेपाल भित्रिएका छन् । 
 
नेपाल प्रवेश गरेका ट्रकमा फलफूल, नयाँ मोटरसाइकल, गहँ, चामल, अगरबत्ती, तोरी, सिमेन्ट, प्याज, आलु एवम् टायरलगायतका सामग्री रहेको प्रहरीले जनाएको छ । अहिले पनि मालबाहक सवारीसाधन भित्रिने क्रम जारी छ । मोर्चाका कार्यकर्ता दसगजामा नभएपछि भारतबाट निर्वाधरुपमा नेपालतर्फ सवारीसाधन भित्रिएका हुन् ।
 
मङ्गलबार सिमानाका बेलहियामा भएको आन्दोलनकारी र प्रहरीबीचको झडप पछि आज भारतीय बजार सुनौली प्रहरी चौकीमा बसेको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी राजस्व गस्ती डण्डका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खनाल, इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रबिनबाबु रेग्मी, भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रवीन्द्र प्याकुरेल र भारतका तर्फबाट महाराजगन्जका सहायक सिडिओ (एसडिएम) विक्रम सिंह, भारतीय सीमा सुरक्षा बल (एसएसबी) महाराजगन्जका कमानडेन्ट केएस बानकोटी, सुनौलीका कस्टम अधिकारी पङ्कज श्रीवास्तवलगायतको सहभागिता रहेको थियो ।
 
भारतमा रोकिएका तेलका ट्याङ्कर र अन्य मालबाहक सवारीसाधन भारतीय प्रहरीले कडा सुरक्षाका साथ स्कर्टिङ गरेर सिमानासम्म ल्याइरहेको छ । भारतीय सुरक्षाकर्मीले नेपालतर्फ आउने सवारीसाधनमा कुनै अवरोध नगरे पछि अहिले सहजै नेपाल भित्रिएका छन् । रासस