मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पेट्रोलका लागि सडकभरि लाइन बसेरै बित्छ समय

पेट्रोलका लागि सडकभरि लाइन बसेरै बित्छ समय


चितवन। पेट्रोलियम पदार्थको चरम अभावले थलिएका उपभोक्ता कुनै पेट्रोल पम्पले पेट्रोल बाँड्ने हल्ला सुन्नसाथ लाइनमा बसिहाल्छन् । लाइन पनि यति लामो हुन्छ कि, कुन लाइन कुन पेट्रोल पम्पबाट बसेको हो, कहाँसम्म पुगेको छ त्यहाँ बस्नेलाई पत्तो हुँदैन ।

बुधबार चितवनका पेट्रोल पम्पहरुमा यस्तै सडकभरि पेट्रोल भर्न बसेका मोटरसाइकलको लाइन देखियो । एक सातादेखि पेट्रोल हाल्न नपाउनेहरु बुधबार चितवनका ३ र नवलपरासीको गैंडाकोटको एक पेट्रोल पम्पबाट पेट्रोल वितरण हुन्छ भनेर सुन्नेबित्तिकै रातारात लाइनमा बसेका थिए ।

भरतपुरको चितवन मेडिकल कलेज अगाडि रहेको दिवा इन्टरप्राइजेजमा पेट्रोल भर्ने मोटरसाइकलको रातिदेखि नै लाइन लागेको थियो । त्यो लाइन क्याम्पस चोकबाट मोडिएर सिनर्जी रोड हुँदै रमाइलो चोक नाघेको थियो । सुरूको लाइनमा बस्ने कतिले ३०० को पेट्रोल पाए, कति बीचमै थुइक्क १ भन्दै मोटरसाइकल डो¥याएर घरतिर लागे ।

त्यस्तै, नारायणगढको शहिदचोकमा रहेको सिद्धि आयलमा पेट्रोल भर्नका लागि लाइन नारायणगढको लिलाचोकसम्म पुगेको छ । यसरी मानिसहरु पेट्रोल भर्नका लागि रातिदेखि घण्टौसम्म लाइन बसेका छन् । गैंडाकोट र खैरहनीमा बाँडिएको पेट्रोल लिन लामो लाइन लागेको थियो । रातभरि लाइनमा बसेपनि बुधबार बिहान ७ बजेबाट पेट्रोल वितरण गरिएको थियो ।

चितवन पेट्रोलियम डिलर्स एशोसियसनका अनुसार नारायणगढको सिद्धि आयल, भरतपुरको दिवा पेट्रोल पम्प, खैरहनीको जानकी पेट्रोल पम्प र नवलपरासीको गैंडाकोटस्थित न्यू गैंडाकोट आयलबाट पेट्रोल वितरण भएको हो । नारायणगढको कैलाश आयल, भरतपुर आयललगायतका अन्य ४ वटा पम्पबाट भने डिजल वितरण भएको थियो ।

प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले चितवनमा कोटा प्रणालीअनुसार पेट्रोलियम पदार्थ वितरण भएको बताए ।