बिश्व घटना

अमेरिका जानलाई खुल्यो डिभी आवेदन फाराम

अमेरिका जानलाई खुल्यो डिभी आवेदन फाराम


अमेरिका , सेप्टेम्बर ३०।अमेरिकी सरकारले सन् २०१७ काे डाइभर्सिटी भिसा (डिभी) को आवेदन फाराम अक्टोबर १ तारिखदेखि खुला गर्ने घोषणा गरेको छ । काठमाडौंमा अमेरिकी राजदूतावासले प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, सन् २०१७ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता अवधि बिहीबार, अक्टोबर १, २०१५ (२०७२ असोज १४) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार ९स्४५ बजे) बाट सुरु हुने गरी खुल्नेछ र नोभेम्बर ३, २०१५ (२०७२ कार्तिक १७) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार १०स्४५ बजे) बन्द हुनेछ ।
 
डिभी निःशुल्क रहेको उल्लेख गर्दै आवेदन भर्दा कन्सल्टेन्सीको सहयोग नलिन पनि आग्रह गरिएको छ । ’हामी डिभी आवेदकलाई चाँडै आवेदन भर्न प्रोत्साहन गर्दर्छौं’, दूतावासले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।
दूतावासले जारी गरेको प्रेस विज्ञप्तकिो पूर्ण पाठ :
 
 
२०१७ डिभी कार्यक्रम खुला
सन् २०१७ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता अवधि बिहीबार, अक्टोबर १, २०१५ (२०७२ असोज १४) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार ९:४५ बजे) बाट सुरु हुने गरी खुल्नेछ र नोभेम्बर ३, २०१५ (२०७२ कार्तिक १७) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार १०:४५ बजे) बन्द हुनेछ । हामी डिभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौँ ।
 
इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी:
 
आवेदन नि:शुल्क: डिभी चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन ।
कन्सल्टेन्टको आवश्यकता नपर्ने: अमेरिकी दूतावास तपाईँलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ ।
 
फारम अनलाइन भर्नुपर्ने: सन् २०१७ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डिभी) आवेदन फारम भर्नु पर्नेछ ।
 
पारिवारिक विवरण खुलाउनुपर्ने: दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
 
एक जनाका लागि एउटा आवेदन: तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ ।
 
आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस्: यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।
 
आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् ।
तपाईँ डिभीका लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको २०१६ मे ३ वा त्यसपछि dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो ।
 
आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि, के कुरा स्मरण गर्नुहोस् भने छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन ।
 
तपाईँ डिभी विजेताका रूपमा छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन । तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग पुग्ने योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्‍यौल गर्नेछन् । अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने दस्तावेजहरूको सूची http://nepal.usembassy.gov/dvchecklist.html मा दिइएको छ ।
 
डिभी कार्यक्रमसम्बन्धी थप जानकारीका लागि www.dvlottery.state.gov वा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइट http://nepal.usembassy.gov/visas/immigrant-visas/diversity-visa-program.html मा जानुहोस् ।

शेयर गर्नुहोस:

27
Shares