मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विज्ञ भन्छन् : चीनबाट तत्काल ल्याउन सकिन्छ पेट्रोलियम पदार्थ

विज्ञ भन्छन् : चीनबाट तत्काल ल्याउन सकिन्छ पेट्रोलियम पदार्थ


काठमाडौं । दक्षिणबाट पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध भएपछि नेपालले उत्तरी नाकाबाट पेट्रोलियम आपूर्तिको विकल्पमा छलफल सुरु गरेको छ । विज्ञहरुले केही महँगो परे पनि उत्तरी नाकाबाट पेट्रोलियम आपूर्ति गर्न सकिने बताएका छन् ।
 
तत्कालै निजी क्षेत्रलाई प्रयोग गरेर चीनबाट तेल ल्याउन सुझाव दिंँदै त्यसपछि जीटुजी सरकारी सयन्त्रमार्फत ल्याउन उनीहरुको आग्रह छ। चीनका विषयमा जानकारहरुले चीनले आवश्यकता अनुसार पेट्रोलियम पदार्थ दिनसक्ने समेत बताए । उनीहरुले तत्कालै निजी क्षेत्रलाई तेल ल्याउन अनुमति दिन समेत आग्रह गरे । 
 
‘खासासम्मै ट्यांकरमार्फत तेल आइरहेको छ। इन्डियन आयल कर्पोरेसनसँग कुनै बाध्यकारी सम्झौता नभए चीनबाट तेल ल्याउन कुनै समस्या छैन,’ चीन मामिलाका विज्ञ अनुपरञ्जन भट्टराईले भने, ‘उनीहरुले नेपालको माग अनुसार तेल दिन पनि सक्छन् ।  
 
हामीले तत्कालका लागि निजी क्षेत्रलाई ल्याउन खुला गर्नुपर्छ,’ नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक समेत रहेका भट्टराईले भने । 
 
चीनबाट इन्जिनियरिङ अध्ययन गरेका उनले तत्काल आपूर्तिका लागि निजी क्षेत्रलाई खुला गर्ने र दुई सरकारबीच सम्झौता भएपछि निर्वाध तेल ल्याउन सकिने बताए । 
 
‘कुनै पनि देशले व्यापारिक विषयलाई राजनीतिक मुद्दा बनाएर रोक्न थालेपछि हामीले पनि विकल्प खोज्नुपर्छ,’ भट्टराईले भने, ‘हामीले चीनबाट तेल ल्याउन थालियो भने भारतीय तेल कम्पनीसँग हाम्रो पनि ‘बार्गेनिङ पावर’ बढ्छ ।’ 
 
उनले सरकारले पेट्रोलियम आपूर्ति लगायतका विषयमा चिनियाँ पक्षसँग यथाशिघ्र छलफल गर्नुपर्ने बताए । आयल निगम र इन्डियन आयल कर्पोरेशन आइओसीसँग भएको आपूर्ति सम्झौंतामा तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्न पाउने प्रावधान छ । यही प्रावधानमाथि टेकेर चीनबाट तेल ल्याउन सकिने आयल निगमका अधिकारीहरुले समेत बताएका छन्।