मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोटा प्रणालीबाट इन्धनको बिक्री वितरण

कोटा प्रणालीबाट इन्धनको बिक्री वितरण


धनगढी । पेट्रोलियम पदार्थको अभावलाई मध्यनजर गरी कैलाली जिल्लामा कोटा प्रणालीबाट इन्धनको बिक्री वितरण गर्ने व्यवस्था गरिएको छ । 
 
जिल्ला प्रशासन कार्यालय कैलालीमा सम्बन्धित निकायका प्रतिनिधिको उपस्थितिमा सोमबार बसेको बैठकले इन्धनको अभावलाई मध्यनजर गरी विभिन्न यातायातका साधनलाई असोज ११ गतेदेखि नै लागू हुने गरी कोटा प्रणाली अपनाई इन्धनको बिक्री वितरण गर्ने निर्णय गरेको छ ।
 
बैठकमा भएको निर्णयअनुसार प्रत्येक दिन निजी कारलाई १० लिटर, मिनीबसलाई २० लिटर, ट्याक्सीलाई १० लिटर, ट्रयाक्टरलाई १५ लिटर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न पाउने गरी कोटा निर्धारण गरिएको छ ।
 
यस्तै हप्तामा मोटरसाइकललाई दुई लिटर, लामो दूरीमा चल्ने ठूला सवारी साधनलाई दूरीअनुसार चाहिने पेट्रोलियम पदार्थ उपलब्ध गराउने र तेलका विक्रेताले ग्यालनलगायतका भाँडाकुँडामा इन्धन कुनै पनि हालतमा बिक्री वितरण गर्न नपाउने निर्णय गरिएको छ ।
 
यसैगरी, नेपाल आयल निगम धनगढीसँग मौज्दात रहेको इन्धनबाट कोटा वितरण प्रणालीमार्फत वितरणको व्यवस्था मिलाउने र कृषकको हकमा कृषि विकास कार्यालयको सिफारिसअनुसार इन्धन उपलब्ध गराउने निर्णय पनि गरिएको छ । बैठकले गरेको निर्णय बमोजिमको इन्धनको आपूर्ति भएरनभएकोलगायतका विषयमा अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा एक समिति पनि गठन गरिएको छ ।
 
इन्धनको अभावलाई मध्यनजर गरी यातायातका साधनमा जोर÷बिजोर प्रणालीसमेत लागू गरिए पनि एम्बुलेन्स, शव वाहन, दूध, तरकारी र फलफूल बोकेका, फोहर ओसार्ने, विद्युत् कार्यालयका साधन र सुरक्षा निकायका साधनमा यो प्रणाली लागू हुने छैन । रासस