मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बदलिँदो मौसमसँगै बालबालिका बिरामी

बदलिँदो मौसमसँगै बालबालिका बिरामी


धादिङ । गर्मी सकिएर चिसो मौसम सुरू हुनै लाग्दा धादिङका अधिकांश गाउंँ बस्तीमा ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने बिरामी बढ्न थालेका छन् । 

ज्वरो आउने, खोकी लाग्ने र झाडापखालाका कारण गाउँगाउँमा अधिकांश बालबालिका बिरामी परेको बताइएको छ । भूकम्पका कारण बस्ने घर भत्किएका, पिउने पानीको समस्या भएकाहरु विशेष गरी बिरामी पर्न थालेका छन् । 

यस्तै पहिले घरघरमा भएका शौचालयहरुसमेत भत्किएकाले गाउँमा जथाभावी दिसापिसाव गर्ने भएका कारणले पिउने पानीमा दूषित किटाणु प्रवेश गरी गाउँमा रोग देखा परेको हुनसक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

भूकम्पपछि अधिकांश ठाउँमा सफा पिउने पानी नभएकोले बालबालिकाका साथै ठूला मान्छेमा समेत झाडापखाला र आउँ पर्नेजस्ता समस्या देखिन थालेकाले समयै उपचार गराउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरीक्षक विष्णु रिजालले बताए । 

गर्मी मौसम सकिएर चिसो शुरू हुन लागेकाले मौसम बदलिसँगै गाउँगाउँमा ज्वरो रुघाखोकी, निमोनिया, टन्सिलका बिरामी बढ्दै गएको जिल्ला अस्पताल धादिङका चिकित्सक कृष्णलाल उप्रेती बताउँछन् । उप्रेतीका अनुसार केही दिनदेखि यस्ता समस्या भएका बिरामीहरुको चाप जिल्ला अस्पतालमा समेत बढ्न थालेको छ । 

जिल्ला अस्पतालमा मात्रै दैनिक एक सयभन्दा बढी बिरामी यही समस्या लिएर आउने गरेको र अन्य स्वास्थ्य संस्थाहरुमा पनि यो क्रम बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

केही दिनदेखि जिल्लाका सबै स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीहरु बढ्न थालेको स्वास्थयकर्मीहरुले बताएका छन् । भूकम्पपश्चात् जिल्लामा सरकारी, गैरसरकारी तथा विदेशी दातृ निकायले स्वास्थ्य सरसफाइ र खानेपानीका लागि सदरमुकाम आसपासमा अभियान संचालन गरे पनि त्यस्ता अभियान समुदायस्तरमा भने पुग्न नसकेको जनगुनासो छ । 

पानी उमालेरमात्र पिउने, खानेकुरा पकाउनुअघि सफा पानीमा राम्रोसँग धोइपखाली गरेरमात्र पकाउने, खानेकुरामा ध्यान दिने र समस्या देखिनासाथ नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि गएमा रोग निको हुने जनस्वास्थ्य निरीक्षक रिजालले बताए ।