मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आयातको समस्या कूटनीतिक तवरबाट समाधान : प्रधानमन्त्री कोइराला

आयातको समस्या कूटनीतिक तवरबाट समाधान : प्रधानमन्त्री कोइराला


बुटवल । प्रधानमन्त्री सुशील कोइरालाले भारतबाट नेपालमा आयातमा देखिएको समस्या समाधानका लागि कुटनीतिक ढङ्गले प्रयास भइरहेको बताउनुभएको छ । 
 
उहाँले संविधान जारी भएपछि भारतीय पक्षबाट भन्सारमा आयात–निर्यातमा देखिएको समस्याप्रति सरकार गम्भीर भएको भन्दै यसलाई समाधान गर्न भारतीय पक्षसँग कुटनीतिक रुपले प्रयास थालिएको बताउनुभयो । 
 
प्रधानमन्त्री कोइरालाले नेपालका समस्या समाधान गर्न नेपाली आफँै सक्षम रहेको भन्दै राष्ट्रियता, स्वाधीनताका विषयमा कोही कसैसँग खुट्टा नकमाउने प्रष्ट पार्नुभयो ।  
 
झण्डै डेढ महिनादेखि जारी आन्दोलनबाट प्रभावित जिल्लाहरुको निरीक्षणका क्रममा रुपन्देही आउनुभएका प्रधानमन्त्री कोइरालाले आज जिल्लास्थित राजनीतिक दल, सञ्चारकर्मी, उद्योगी, व्यवसायी र नागरिक समाजका व्यक्तिसँगको भेटमा नयाँ संविधान जारी भएपछि अब मुलुक विकासको गतिमा अघि बढ्ने बताउनुभयो ।
 
उहाँले मुलुकलाई विकासको गतिमा अघि बढाउन शान्ति सुरक्षा र अमनचयन प्रमुख विषय भएको बताउँदै यससँगै प्राकृतिक चुनौतीको समेत सामना गरेर मुलुक समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
 
प्रधानमन्त्री कोइरालाले संविधान विगत सत्तरी वर्षको आन्दालनको उपलब्धि भएको भन्दै एउटा गतिशील दस्तावेज भएको भन्दै सबैका विचार भावनालाई समेटन सम्भव नभएको बताउनुभयो । उहाँले वर्तमान संविधान सम्झौताको संविधान भएकाले यसलाई सबैले सकारात्मकरुपमा स्वीकार्नु पर्नेमा जोड दिनुभयो ।
 
उहाँले संविधानले सबै जातजाति, भाषा, संस्कृति र भेषभूषा सबैका हक अधिकार सुरक्षित गरेको भन्दै संविधानका विषयमा कहीँ कतैबाट भ्रम सिर्जना गर्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले अरुलाई दोष दिनुभन्दा हामी एक हुन सकेनौं भने यसको फाइदा अरुले उठाउने भन्दै संविधान निर्माणमा दलहरूबीच देखिएको एकतालाई कायम राख्न सक्नुपर्नेमा जोड दिनुभयो ।
 
कार्यक्रममा वन मन्त्री महेश आचार्यले आन्दोलनरत पक्षसँग सम्बाद जारी रहेको भन्दै उनीहरूका मुद्दा संवैधानिक तवरले समाधान गर्न सरकार तयार रहेको बताउनुभयो ।
 
उहाँले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने बताउँदै राजनीतिक दलले अब सद्भाव अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।
 
रुपन्देही क्षेत्र नं. ५ का सांसद भरतकुमार शाह, क्षेत्र १ का सांसद अब्दुल रज्जाक, नेकपा (एमाले)का केन्द्रीय सदस्य लीला गिरीले वर्तमान संविधान उत्तम र समावेशी भएको बताउनुभयो ।
 
सिद्धार्थ नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार शर्माले मधेस आन्दालनका कारण बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रभावित भएको, राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध विमानस्थलको निर्माण प्रभावित हुने सम्भावनालगायतका समस्या देखिएको बताउनुभयो ।
 
यसैबीच प्रधानमन्त्री कोइरालाले केही दिनअघि जिल्लास्थित बेथरीमा भएको झडपमा मृत्यु भएका परिवारलाई भेटेर सहानुभुति प्रकट गर्नुभएको थियो ।
 
यसअघि प्रधानमन्त्री कोइरालाले जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको थियो ।
 
प्रधानमन्त्रीका साथ वन तथा भू–संरक्षण मन्त्री आचार्य, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, प्रधानसेनापति रबिन्द्र क्षेत्री, गृहसचिव सूर्यप्रसाद सिलवाललगायत सहभागी हुनुहुन्छ । रासस