मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुर्भावना फैलाउनेप्रति सचेत हुनुपर्छ– प्रधानमन्त्री कोइराला

दुर्भावना फैलाउनेप्रति सचेत हुनुपर्छ– प्रधानमन्त्री कोइराला


धनगढी । प्रधानमन्त्री सुशील कोइरालाले विभिन्न दुर्भावना फैलाउनेप्रति सचेत रही सामाजिक सद्भाव फर्काउन आग्रह गर्नुभएको छ ।

टीकापुर घटनापछि उत्पन्न स्थितिको स्थलगत जानकारी लिन आज टीकापुर आइपुग्नुभएका प्रधानमन्त्री कोइरालाले आज स्थानीयसँगको छलफलका क्रममा टीकापुर घटनाका दोषीलाई कारबाही गरिने दृढता व्यक्त गर्नुभयो । “घटनाका दोषीमाथि कारबाही गरिन्छ” उहाँले भन्नुभयो ।

हिमाल, पहाड, तराईका बासिन्दा सौहार्दतापूर्वक बसेको उल्लेख गर्दै उहाँले दुर्भावना फैलाउनेलाई कारबाही हुन्छ भन्नुभयो । उत्तेजक अभिव्यक्ति दिने आफ्नै पार्टीका सांसद अमरेश सिंहलाई पनि कारबाही गरिने प्रधानमन्त्री कोइरालाले स्पष्ट पार्नुभयो ।

नेपालको संविधान सबैको सामूहिक दस्तावेज भएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले यही संविधानले सबैको हक अधिकार सुनिश्चित गरेको बताउनुभयो । जनजाति, दलित, मुस्लिम, आदिवासी सबैलाई यो संविधानले समेटेको उहाँले उल्लेख गर्नुभयो ।

नयाँ संविधानले मुलुकलाई आर्थिक समृद्धि र विकासतर्फ डो¥याउन मद्दत पु¥याउनेमा जोड दिँदै उहाँले आगामी आठ÷दश वर्षमा देशमा कायापलट हुने विश्वास व्यक्त गर्नुभयो

प्रधानमन्त्री कोइरालाले शान्ति, लोकतन्त्र र स्थायित्वले मात्रै मुलुकको विकास सम्भव हुने बताउनुभयो । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डता सर्वोपरी रहेकाले यो विषयमा कसैसँग सम्झौता हुन नसक्ने धारणा राख्नुभयो । वर्तमान राजनीतिक परिस्थितिमा आफ्नो उपस्थिति देशमा महत्वपूर्ण रहेको महसुस गरी आफू संयुक्त राष्ट्रसङ्घको बैठकमा नगएको उहाँंले प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री कोइरालासँगै आउनुभएका वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले तराईको सीमा क्षेत्रमा उत्पन्न समस्या कुटनीतिक तबरबाटै समाधानको पहल भइरहेको बताउनुभयो । प्रधानमन्त्रीसहितको टोलीमा वन मन्त्री आचार्य, गृहसचिव, प्रधानसेनापति, प्रहरी महानिरीक्षकलगायत सरकारी अधिकारी सम्मिलित हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीसहितको टोलीले टीकापुरस्थित राजनीतिक दल, स्थानीयवासीसँग छलफल गर्दै जन गुनासो पनि सङ्कलन गरेको थियो । प्रधानमन्त्री कोइरालाले टीकापुर घटनामा ज्यान गुमाएका डेढ वर्षीय बालक टेकबहादुर साउदको अभिभावकलाई समेत भेट गर्नुभएको थियो । बालकका आफन्तले दोषीलाई कारबाही र ज्यान गुमाएका बालकलाई बाल सहिद घोषणा गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

त्यस्तै टीकापुर क्षेत्रका थारु समुदायका अगुवाहरूले टीकापुर घटनापछि परिचालित सुरक्षाकर्मीले गाउँ पसेर ज्यादति गरेको प्रधानमन्त्रीसमक्ष गुनासो गरेका थिए । गएको भदौ ७ गते थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुरस्थित पशुहाटमा भएको हिंसात्मक घटनामा परी वरिष्ठ प्रहरी उपरीक्षकसहित आठ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो ।

घटनालगत्तै स्थानीय प्रशासनले टीकापुर र आसपासका क्षेत्रमा लगातार निषेधाज्ञा लगाउँदै आएको छ । यस्तै जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी सदरमुकाम धनगढीमा पनि दुई दिन अघिसम्म निरन्तर निषेधाज्ञा जारी हुँदै आएको थियो ।