मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान नेपाली जनताको महत्वपूर्ण उपलब्धि हो : काँग्रेस नेताहरू

संविधान नेपाली जनताको महत्वपूर्ण उपलब्धि हो : काँग्रेस नेताहरू


काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले नयाँ संविधान नेपाली जनताको महत्वपूर्ण उपलब्धि भएको भन्दै त्यसलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।


नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा आज आयोजित ‘वर्तमान संविधानबाट क–कसले के के पाएका छन् ? विषयक अभिमुखीकरण कार्यक्रममा नेपाली जनताको सात दशकदेखिको आफ्नो संविधान बनाउने चाहना साकार भएका निष्कर्ष निकालिएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधानमध्येमा पर्ने धारणा राख्नुभयो ।

संविधानमा आफ्ना माग नसमेटिएको भन्दै केही असन्तुष्टि पनि रहेको बताउँदै उहाँले असन्तुष्टिलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्न सकिने उल्लेख गर्नुभयो ।

आन्दोलनरत दल वार्तामा आएर संवादका माध्यमबाट समस्याको समाधानमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सुरक्षाका कारण देखाएर नेपालमा आउनुपर्ने सामान भारतमा रोकिएको बताउँदै उहाँले देशभित्र सुरक्षाको व्यवस्थापन नेपाल सरकारले गर्ने भएका कारण भारत सरकारले मालबाहक गाडी सहजताका साथ पठाउनुपर्ने धारणा राख्नुभयो ।

काँग्रेसका उपसभापति एवम् प्रतिष्ठानका प्रमुख रामचन्द्र पौडेलले जनताका अधिकारलाई सुनिश्चित गरेको, समानुपातिक, समावेशी नेपालको संविधान एसियाकै उत्कृष्ट संविधान भएको बताउनुभयो ।

समतामूलक न्यायपूर्ण समृद्ध समाजको निर्माणका लागि संविधानले मार्ग प्रशस्त गरेको चर्चा गर्दै उहाँले संविधानका सम्बन्धमा रहेका केही असन्तुष्टिलाई पनि संवादका माध्यमबाट समाधान गर्न सकिने धारणा राख्नुभयो ।

हिमाल, पहाड र तराई मिलेर बसेको नेपाल नै समृद्ध नेपाल बन्न सक्ने बताउँदै उहाँले हिमाल, पहाड र तराईबीचको एकता नै प्रत्येक नेपालीको हितमा हुने उल्लेख गर्नुभयो ।

पार्टीका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी हुनुभन्दा पनि यसको कार्यान्वयन पक्ष प्रभावकारी हुनुपर्ने बताउँदै कार्यान्वयनको अभ्यासमा आगामी दिनमा कसरी बढ्न सकिन्छ भन्ने मार्गनिर्देश गर्ने उल्लेख गर्नुभयो ।

उहाँले विद्यमान असन्तुष्टिसमेतलाई सम्बोधन गर्दै सबैलाई एकाकार गरी लैजाने महत्वपूर्ण जिम्मेवारी काँग्रेसको हो भन्नु भयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् अर्थमन्त्री डा रामशरण महतले जनताले निर्वाचित गरेका प्रतिनिधिले बनाएको नेपालको संविधान आफैँमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

संविधान परिवर्तनशील भएकाले राष्ट्रिय हित आवश्यकताका आधारमा यसलाई समयसापेक्ष परिमार्जन गर्दै लान सकिने उहाँले उल्लेख गर्नु भयो ।

सुरक्षाका कारण देखाएर भारतबाट समान ढुवानीमा रोकावट भएको बताउँदै उहाँले नेपालभित्रको सुरक्षा नेपाल सरकारले दिने भएकाले सामान ढुवानीलाई भारत सरकारले सहज बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले देशमा उद्यमशीलताको विकास गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

पार्टीका अगुवा कार्यकर्ता सहभागी अभिमुखीकरण कार्यक्रममा विभिन्न विज्ञबाट प्रशिक्षण दिने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । रासस