चितवन । कवि तथा गीतकार दिनेश अधिकारीले शनिबार आफ्ना झन्डै दुई दर्जन गीत तथा कविता वाचन गरेका छन् ।
अघिल्लो पुस्ताका गायक भक्तराज आचार्यदेखि पछिल्लो पुस्ताका गायक सत्यराज आचार्यसम्मका लोकप्रिय गीतमा शब्द भरेका दिनेशको प्रस्तुति सुन्न साहित्य पारखीहरु उपस्थित थिए ।
उनले देशभक्ति, माया, प्रेम, विचार र जीवनदर्शनको बारेमा गीत र कविताहरु प्रस्तुत गरेका थिए ।
‘नीलो दह’ शीर्षकको कविताबाट वाचन सुरू गरेका उनलाई गायक सहन प्रधानले साथ दिए ।
प्रधानले देशको वर्तमान राजनीतिक परिस्थितिसँग मिल्दोझुल्दो ‘जाडो बढे पहाडमा, तराईले सेक्नुपर्छ, आँधी आए तराईमा, पहाडले छेक्नुपर्छ’ शीर्षकको राष्ट्रिय भावनाले ओतप्रोत गीत गाएका थिए ।
अक्षर समूह चितवनले आयोजना गरेको एकल कविता वाचन कार्यक्रममा सहभागी हुन चितवन, नवलपरासी, पोखरा, म्याग्दी र हेटौंडादेखि आएका थिए ।
दर्शकदीर्घामा चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, स्थानीय विकास अधिकारी श्रवण पोखरेल, प्रहरी प्रमुख सहकुलबहादुर थापा, जिल्ला न्यायधीशहरु, सरकारी अधिकारीहरु, उद्योगी र व्यवसायीहरु उपस्थित थिए ।
प्रतिक्रिया